दलाललाई लाखौं बुझाएर अमेरिका छिर्न खोज्ने ७८ नेपाली ३ महिनामा पक्राउ, १० विमानस्थलबाट फिर्ता
प्रकाशित मिति : माघ १०, २०७४ बुधबार
-किशोर पन्थी
सिमा सुरक्षामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको अबको केही दिनमा १ बर्ष पूरा भएको छ । यो १ बर्षमा सिमा क्षेत्रमा के के भयो ? कतिजना पक्राउ परे ? पक्राउ दर विगतको तुलनामा कम छ वा बढी यसै विषयमा तयार पारिएको विशेष रिपोर्ट ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरी २५ मा एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सिमा सुरक्षामा कडाई गर्न र अध्यागमन नियमको कार्यान्वयनमा कडाई गर्न निर्देशन जारी गरेका थिए । कार्यकारी आदेश जारी भए लगत्तै सिमा क्षेत्रमा कडाई गरिएको थियो । त्यसपछि सिमाक्षेत्रमा पक्राउ पर्नेहरुको संख्या बढ्ने अनुमान र अपेक्षा गरिएको थियो । किनभने गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेहरुलाई पक्राउ गर्नका लागि ट्रम्प प्रशासनले सिमा सुरक्षा गस्तीको संख्या र सकृयता दुबै बढाएको थियो ।
तर सिमा क्षेत्रमा पक्राउ पर्नेहरुको तथ्यांकले भने सबैलाई चकित तुल्याएको छ । ट्रम्पको कार्यकारी आदेशको त्रासका कारण मेक्सिकोबाट गैर कानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्न खोज्नेहरुको संख्या नै ह्वात्तै घट्यो । फलस्वरुप ट्रम्पको कार्यकारी आदेश लगत्तै सिमा क्षेत्रमा पक्राउ दरमा नाटकीय रुपमा कमी आयो । कार्यकारी आदेशपछि पक्राउ दर बढ्ने धेरैको अनुमान विपरित पक्राउ दर ह्वात्तै घट्न पुगेको हो । कारण, ट्रम्पको कार्यकाल सुरु हुनासाथ गैरकानुनी रुपमा सिमा पार गर्न खोज्नेहरुले त्रासका कारण तत्कालका लागि आफ्नो योजना परिवर्तन गरिदिए ।
सिमा क्षेत्रमा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेका नेपालीहरुको संख्या भने उल्लेख्य रहेको छ । आर्थिक बर्ष २०१८ सुरु भएयता अर्थात् सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को जनवरी २ सम्मको तथ्यांक अनुशार सिमा क्षेत्रबाट गैर कानुनीरुपमा अमेरिका छिर्न खोज्दा पक्राउ पर्ने नेपालीहरु अमेरिकाभर जम्मा ७८ जना रहेका छन् । यो तथ्यांकमा देशनिकालाहुन योग्यहरुको संख्यामात्र समावेश रहेको छ । पक्राउ परेका ७८ जनामध्ये सबैजना दक्षिण पश्चिम सिमाक्षेत्रबाट पक्राउ परेकाहरु हुन् ।
सन् २०१७ को अक्टोबर यता विमानस्थलबाट अमेरिका छिर्न अयोग्य सावित गर्दै फर्काइएका नेपालीहरुको संख्या १० रहेको छ । जसमध्ये १ जना न्युयोर्क, ५ जना सान फ्रान्सिस्को, ३ जना वासिंटन हेडक्वाटर प्रिक्लियरेन्स र १ जना पोर्टल्याण्डबाट फर्काइएकाहरु छन् । उनीहरु विमानस्थलबाटै अमेरिका छिर्न नदिई फिर्ता पठाइएकाहरु हुन् ।
ओबामा कार्यकालको तुलना
ओबामा कार्यकालको अन्तिम ४ महिना अर्थात् आर्थिक बर्ष २०१७ को अक्टोबरदेखि जनवरीसम्म सिमाक्षेत्रमा पक्राउदर अत्यन्तै उच्च रहेको थियो । तर ट्रम्पको कार्यकारी ओदश लगत्तै सन् २०१७ को फरबरीमा यो दर ह्वात्तै घट्न पुगेको थियो । आर्थिक सन् २०१७ को पहिलो महिना अक्टोबर (२०१६) मा दक्षिण पश्चिम सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन अर्थात् सीबीपीले ६६ हजार ७ सय ८ जनालाई पक्राउ गरेको थियो । नोभेम्बरमा ६३ हजार ३ सय ६१ जनालाई सीबीसीले दक्षिण पश्चिम सिमाक्षेत्रबाट पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बर महिनामा ५८ हजार ४ सय १२ जनालाई सिमाक्षेत्रबाट पक्राउ गरिएको थियो । ओबामा कार्यकालको अन्तिम महिना अर्थात् सन् २०१७ को जनवरीमा सीबीपीले पक्राउ गरेकाहरु ४२ हजार ४ सय ६३ जना रहेका थिए ।
ट्रम्पको कार्यकाल सुरु हुनासाथ एवं कार्यकारी आदेश जारी हुनासाथ सन् २०१७ को फरबरीमा सिमा क्षेत्रमा पक्राउ पर्नेहरुको दर नाटकीय रुपमा कमी आयो । सन् २०१७ को फरबरीमा सीबीपीले सिमा क्षेत्रबाट जम्मा २३ हजार ५ सय ५५ जनालाई नियन्त्रणमा लियो । मार्चमा यो दर अझ घटेर १६ हजार ५ सय ८८ मा झर्न पुगेको थियो । अप्रिलमा १५ हजार ७ सय ६६ जनालाई सीबीपीले सिमाक्षेत्रमा नियन्त्रणमा लिएको थियो । मे महिनामा यो दर अलिकति बढेर १९ हजार ९ सय ४० पुगेको थियो ।
ओबामा कार्यकालको पछिल्लो ४ महिनामा सिमा क्षेत्रमा पक्राउ पर्नेहरु कुल २ लाख ३० हजार ९ सय ४४ जना रहेका थिए । जबकी ट्रम्प कार्यकालको सुरुको ४ महिनामा सिमा क्षेत्रमा पक्राउ पर्नेहरु कुल ७५ हजार ८ सय ४९ जनामात्र रहेका थिए । त्यसपछिका कुनै पनि महिनामा सीमाक्षेत्रमा पक्राउ दरले ओबामा कार्यकालको पक्राउ दरलाई भेट्टाउन सकेन । सन् २०१७ को जुन महिनामा सिमाक्षेत्रमा पक्राउ संख्या २१ हजार ६ सय ५७ रहेको थियो । त्यस्तै जुलाईमा २५ हजार १९ जनालाईमात्र सीबीपीले नियन्त्रणमा लियो । अगस्तमा ३० हजार ५ सय ६७ जनामात्रै सीबीपीको पक्राउमा परेभने सेप्टेम्बरमा ३१ हजार १ सय ५५ जनालाई सीबीपीले दक्षिण दक्षिणपश्चिम सिमाक्षेत्रबाट नियन्त्रणमा लियो । यसरी आर्थिक बर्ष २०१७ मा ४ लाख १५ हजार १ सय ९१ जनालाई सीबीपीले सिमाक्षेत्रबाट नियन्त्रणमा लिएको थियो । ओबामा कार्यकालको आर्थिक बर्ष २०१६ मा सिमाक्षेत्रमा ५ लाख ६३ हजार २ सय ४ जना रहेका थिए ।
पक्राउ दर ४५ बर्षकै कम
रोचक त के छ भने ओबामा कार्यकालको आर्थिक बर्ष २०१६ को तुलनामा ट्रम्प कार्यकालको आर्थिक बर्ष २०१७ मा सिमाक्षेत्रमा पक्राउ दर ४० प्रतिशतले घटेको छ । ट्रम्प कार्यकालको पहिलो आर्थिक बर्षमा सिमाक्षेत्रमा पक्राउ दरमा विगत ४५ बर्षमा नै सबैभन्दा कमी आएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी प्रेस सेक्रेटरीले जनाएका छन् । आर्थिक बर्ष २०१५ मा सिमाक्षेत्रमा सीबीपीले ४ लाख ४४ हजार ८ सय २५ जनालाई नियन्त्रणमा लिएको थियो भने आर्थिक बर्ष २०१४ मा ५ लाख ६९ हजार २ सय ३७ जनालाई नियन्त्रणमा लिएको थियो । ओबामाको दोश्रो कार्यकालको पहिलो आर्थिक बर्ष २०१३ मा सीबीपीले सिमाक्षेत्रबाट ४ लाख ९ हजार ४ सय ९ जनालाई नियन्त्रणमा लिएको थियो ।
आर्थिक बर्ष २०१८ सुरु भएपछि भने सीमाक्षेत्रमा पक्राउ दर विगतका महिनाका तुलनामा केही बढेको छ । आर्थिक बर्ष २०१८ को पहिलो महिना अर्थात् सन् २०१७ को अक्टोबरमा सिमाक्षेत्रमा पक्राउ पर्नेहरु ३४ हजार ८ सय ५५ जना रहेका छन् । नोभेम्बरमा यो संख्यामा थोरैले बढेर ३९ हजार ६ पुग्यो भने डिसेम्बरमा अझै बढेर ४० हजार ५ सय १३ पुगेको छ । यो संख्यामा गैरकानुनी रुपमा सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरुका साथै पोर्ट अफ इन्ट्रीबाटै आउन खोज्दा अमेरिका प्रवेश गर्न अयोग्य हुनेहरु समेत छन् ।
घटे मेक्सिकन
अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरुमा १७ बर्षमुनीका बालबालिकाहरुको संख्या पनि उल्लेख्य छ । जसमध्ये सबैभन्दा धेरै ग्वाटेमालाका बालबालिकाहरु रहेका छन् । विगतका बर्षमा सबैभन्दा धेरै मेक्सिकन बालबालिकाहरु रहेपनि अहिले भने सबैभन्दा धेरै ग्वाटेमालाका रहेको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०१७ को तथ्यांक हेर्दा ग्वाटेमालाका सबैभन्दा धेरै १४ हजार ८ सय २७ जना, एल साल्भाडोरका ९ हजार १ सय ४३ जना, मेक्सिकोका ८ हजार ८ सय ७७ जना र होण्डुरसका ७ हजार ७ सय ८४ जना बालबालिकाहरु सिमाक्षेत्रमा पक्राउ परेका थिए । उनीहरु कुनै अभिभावक विना नै अमेरिका छिर्न खोज्नेहरु हुन् ।
परिवारका सदस्यहरुसहित अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरु पनि ग्वाटेमालाका सबैभन्दा धेरै छन् । आर्थिक बर्ष २०१७ मा परिवारसहित अमेरिका छिर्न खोज्दा ग्वाटेमालाका २४ हजार ६ सय ५७ जना पक्राउ परेका थिए भने एल साल्भाडोरका २४ हजार १ सय २२ जना पक्राउ परेका थिए । त्यस्तै होण्डुरसका २२ हजार ३ सय ६६ जना पक्राउ परेका थिए भने मेक्सिकोका २ हजार २ सय १७ जनामात्रै थिए ।