७७ बिजनेशमाथि अध्यागमनको छापा, कामदारको वर्क परमिट जाँच
प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार
संघीय अध्यागमन अधिकारीहरुले यो साता अमेरिकाको क्यालिफोर्नियाका ७७ बिजनेशमा छापा मारेका छन् । काममा राखिएका व्यक्तिको अमेरिकामा काम गर्ने कानुनी हैसियत भए नभएको चेक गर्न ती बिजनेशमा छापा मारिएको हो ।
छापामा अधिकारीहरुले रोजगारदातासँग काममा राखिएका व्यक्तिको अमेरिकामा कानुनी रुपमा काम गर्ने अनुमतिको प्रमाण मागेका थिए । यसअगाडि अमेरिकाका एकसय वटा सेभेन इलाभेन स्टोरमा छापामा मारेर आइसका अधिकारीहरुले २१ जना कागजपत्रविहिनलाई नियन्त्रणमा लिएका थिए ।
एजेन्सीका कार्यकारी निर्देशक थोमस होम्यानले काम गरिरहेका स्थलहरुमा छापामार्ने काममा ४ सय प्रतिशत बृद्धि भएको जानकारी दिएका छन् । सोमबारदेखि बुधबारसम्म बे एरियाका बिजनेशहरुमा छापा मारिएको जनाइएको छ ।
छापा मार्दा यदि अनुमति नभएको व्यक्तिलाई काममा लगाइएको पाइएमा रोजगारदातामाथि कारवाहीको व्यवस्था रहेको छ । गत आर्थिक बर्षमा आइसले १३६० अडिट गरेको थियो भने १७२ अध्यागमन र १३९ आपराधिक गिरफ्तारी गरेको थियो । रोजगारदातालाई पनि झण्डै १ सय मिलियन डलर जरिवाना गरिएको थियो ।