न्युयोर्कमा हिराशतमा रहेकाहरुसँग प्रहरीले यौनसम्पर्क गर्न नपाउने कानुन पारित


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

न्युयोर्क राज्यका सांसदहरुले न्युयोर्कमा हिराशतमा रहेकाहरुसँग प्रहरीले यौन सम्पर्क गर्न नपाउने कानुन पारित गरेका छन् । विगतमा हिराशतमा रहेकाहरुलाई बलात्कार गरेर प्रहरीले त्यसलाई यौन सम्पर्क प्रमाणित गर्ने कानुनी छिद्र रहेको थियो । हतकडी लगाइएकी एकजना महिलालाई न्युयोर्क सिटी पुलिस डिपार्टमेन्टका ड्युटीमा रहेका एकजना अधिकारीले प्रहरी भ्यानमा बलात्कार गरेको घटनापछि यस्तो कानुन पारित भएको हो ।

हिराशतमा रहेकाहरुलाई प्रहरीले यौन दुब्र्यबहार गर्न नरोक्ने ३५ वटा राज्यमध्ये न्युयोर्क एउटा रहेको भन्दै समाचार आएपछि राज्यका सांसदहरुले नयाँ कानुनका लागि गृहकार्य सुरु गरेका थिए । केही सातायता न्युयोर्कसगै कम्तीमा ६ राज्यहरुले हिराशतमा यौन दुब्र्यबहार रोक्ने कानुन बनाउन लागि परेका थिए ।

सन् २००६ यता कम्तीमा १५८ प्रहरी अधिकारीहरुलाई हिराशतमा रहेकाहरुसँग बलात्कार र यौनजन्य कृयाकलाप गरेको अभियोग लागेको छ । त्यसमध्ये २६ वटा अभियोग समझदारीमा गरिएका यौन सम्पर्क भन्दै फिर्ता लिइएको थियो । अमेरिकामा ड्युटीमा रहेका प्रहरीले गरेका कैयन बलात्कारका घटनालाई सहमतिमा गरिएका यौन सम्पर्क भन्दै ढाकछोप गरिदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com