जनपक्षीय ब्राजिली रंगकर्मीसँगको अन्तर्वार्ता : ‘जताबाट हेर्नुस्– अमेरिका उस्तै देखिन्छ !’
प्रकाशित मिति : कार्तिक १७, २०७३ बुधबार
– घिमिरे युवराज
अगस्टो बोआल ब्राजिलका प्रसिद्ध नाटककार तथा निर्देशक हुन् । उनलाई अनौपचारिक पद्धतिबाट शैक्षिक चेतना विस्तार गर्ने अभियन्ता मानिन्छ । १६ मार्च १९३१ मा जन्मिएका उनी सन् ६० को दशकदेखि मजदुर आन्दोलनमा लागे । र, रंगमञ्चलाई राजनीतिक आन्दोलनमा प्रयोग गरे । सन् १९७१ मा नाटक गर्दागर्दै सैनिकहरुद्धारा उनी गिरफ्तार भए । बन्दीगृहमा उनलाई ४ महिना यातना दिइयो । त्यसपछि उनी १५ वर्षका लागि पुर्नवास हुन बाध्य भए । मजदुर आन्दोलनबाटै उनी सन् १९९४ मा रियो दि जेनेरियोको नगर परिषद् सदस्यमा चुनिए । र, रंगमञ्चमार्फत स्थानीय कानुनमा परिवर्तन ल्याए । उनलाई प्रसिद्ध शिक्षाविद् पाउलो फ्रेरेको अनौपचारिक शिक्षा पद्धतिबाट प्रभावित मानिन्छ । पाउलो फेरे र बोआल असल मित्र थिए । पाउलो फ्रेरेका ‘पेडागोजी अफ दि अप्रेस्ट’ र ‘पेडागोजी अफ होप’ प्रसिद्ध किताब हुन् । त्यसैगरि बोआलका ‘गेम्स् फर एक्टर एन्ड नन् एक्टर’, ‘थिएटर अफ दि अप्रेस्ट’ रंगमञ्चका प्रसिद्ध सैद्धान्तिक किताब मानिन्छन् । बोआल अन्तर्क्रियात्मक रंगमञ्च ‘थिएटर अफ दि अप्रेस्ट’का आविष्कारक हुन् । ‘डेमोक्रेसी नाउ’ नामको अनलाइन टिभिले अगस्टो बोआलसँग लिएको अन्तर्वार्ता अंग्रेजीबाट नेपालीमा उतारिएको हो । बोआलको मृत्यु सन् २००९ मे २ तारिखमा भएको थियो । यो अन्तर्वार्ता एमी गुडम्यानद्वारा सन् २००७ जुनमा न्युयोर्कको फायर हाउस स्टुडियोमा लिइएको थियो । २००९ मे ९ मा पहिलो प्रसारण गरिएको अन्तर्वार्ता रंगकर्मी घिमिरे युवराजले नेपालीमा अनुवाद गरेका हुन् ।
‘थिएटर अफ दि अप्रेस्ट’ के हो ?
बोआल : ‘थिएटर अफ दि अप्रेस्ट’ भनेको पारम्परिक थिएटरको सीमाभन्दा बाहिर आएर गरिएको प्रयोग हो । नाटकघर वा लेखिएको नाटकभन्दा बाहिर आएर गरिने नाटक हो थिएटर अफ दि अप्रेस्ट । रंगमञ्च भनको अनुभुतिजन्य कुरा हो, नकि कुनै नियम र पर्खालभित्र बाँधिएको । हामी त्यस्तो जीव हौँ, जसभित्र अभिनय गर्ने क्षमता छ । हामी हरक्षण अभिनय गरिरहेका हुन्छौ । हामीसँग अवलोकन गर्ने क्षमता हुन्छ । डल्फिन र हात्तीजस्ता केही जनावरहरुमा पनि यो क्षमता हुन्छ । हामी साँच्चैको जीवनमा अभिनय गछौँ र के गर्यौँ भनेर नियाल्छौँ पनि । त्यसै भएर हामी सबैमा रंगमञ्च छ । जस्तो कि हामी कसैलाई माया गर्दा जस्तो खुसीको व्यहोरा देखाउँछौ त्यही मान्छेलाई घृणा गर्न थालेपछि अर्कै व्यहोरा देखाउँछौ । त्यसैले हामी पनि कलाकार हौँ तर मञ्चमा अभिनय गर्ने कलाकारलाई ‘म के गर्दैछु’ भन्ने थाहा भएर गर्छ । तर, साँच्चैको जीवनमा आफैँ हुन्छ । त्यसैले हरेक मानिस कलाकार हो । यस किमिसको नाट्य शैलीमा दर्शक पनि कलाकार हुन् । त्यसैले यस किसिमको नाट्य शैलीमा हामी दर्शकलाई दर्शक–कलाकार भन्छौँ । अरु कलाकारहरुजस्तै ‘थिएटर अफ दि अप्रेस्ट’मा पनि अभिनय हुन्छ तर यसमा साँच्चैको जीवनको प्रतिविम्ब हुन्छ । यसमा कलाकार हैन हामी हुन्छौँ । किनभने हरेक जिवमा आफैलाई अनुभुत गर्ने क्षमता हुन्छ । हामी नाटक हेर्छौँ र नाटकका चरित्रहरुमा आफुलाई अनुभुत गर्न सक्छौँ । जस्तो कि हामी दर्शक भएर नाटक हेर्छौँ तर त्यही समय हामी नाटकको चरित्रमा पनि आफुलाई पाउँछौँ । त्यसैले थिएटर अफ दि अप्रेस्टमा हामी दर्शक र कलाकार दुवै हौँ ।
हामी भनेको को ?
बोआल : हामी भनेको हामी सबै । हरेक व्यक्ति । तपाईँ र म । तर, विशेषत हाम्रो सम्बन्धमा चाहिँ हामी भनेको पीडित । हाम्रो विचारमा प्रकृता सबै प्रकारका मानवीय सम्बन्धहरुमा सम्वाद हुनु आवश्यक छ । हामीसँग स्वभाविक समाजको क्षण हुनु पर्छ । अर्को बोलिरहेको बेला आफुले सुन्नु पर्छ । यसरी नै एक अर्काले सुन्ने बातावरण हुनु पर्छ । तर सादय हामी काला र सेता, उत्तर र दक्षिणका यसो गरिरहेका छैनौँ । सायद एउटा मात्रै बोलिरहेको छ । कि त लोग्ने मान्छे मात्रै बोल्छ, कि त गोराहरु मात्रै बोल्छन्, वा उत्तरी देशका मात्रै बोल्छन् । त्यसैले हामी दुवै पक्षको सम्बादलाई स्थापित गर्न चाहन्छौँ । सबैले बोल्न पाउने अधिकार होस् भन्न चाहन्छौँ हामी । त्यसैले हामी भनेको पीडित । कुनै पनि किसिमको पीडित । यौन हिंसाबाट पीडित, तलबबाट पडित वा राजनीतिबाट पीडित । हामी भन्नाले सबै किसिमका पीडित ।
अब भन्नुस्, यस किसिमको कामको लागि तपाईँलाई के ले प्रेरित गर्यो ? थिएटर अफ दि अप्रेस्टको आविष्कार कसरी भयो ?
बोआल : मेरो बुबाको पाउरोटी फ्याक्ट्री थियो ब्राजिलमा । म १३, १४ वर्षको हुँदादेखि बुबालाई फ्याक्ट्रीमा सघाउथेँ । हरेक विहान जब म मेरो बुबालाई सघाउन जान्थेँ मैले त्यहाँ धेरै मजदुरहरुलाई देखेँ । उनीहरु त्यहाँ हेपिएका थिए । र, उनीहरुको पीडाले म भरिएको थिएँ । सोच्थेँ, किन यिनीहरु यसरी थिचिँदा पनि विरोध गरिरहेका छैनन् ? यही कुराले गर्दा मैले १५ वर्षको हुँदा उनीहरुको बारेमा नाटक लेखेँ । तर, मैले एउटा क्षणमा आएर महसुस गरेँ— ‘म उनीहरुको जस्तै हेपाइमा छैन । म उनीहरुको परिस्थितिमा थिइन तर मैले उनीहरुको जस्तो हुने प्रयास गरेर कलाकार बन्ने कोसिस गरिरहेका थिएँ ।’ एक किमिसले म आफु उनीहरुभन्दा माथिल्लो ओहदामा रहेको महसुस गरेँ । त्यसैले मैले सोचेँ, अब म यिनीहरुलाई आफ्नो उत्पिडनको विरुद्धमा कसरी लड्ने भनेर सिकाउँछु । त्यसपछि म सन् १९५० र ६० को दशकमा राजनीतिक नाटकतिर लागेँ । ती नाटकहरुमा तिनै मजदुरहरुले अब के गर्नु पर्छ भन्ने सन्देशहरु हुन्थे । तर, काम गर्दै गएपछि मैले महसुस गरेँ, उनीहरुलाई जति मलाई थाहा छैन । हो, नाटकको बारेमा मलाई उनीहरुभन्दा बढि थाहा छ । तर उनीहरुको जीवन र समस्याका बारेमा मलाईभन्दा धेरै उनीहरुलाई नै थाहा छ भन्ने कुरा एउटा घटनाले सिकायो । म आफ्नो रहरले उत्तरपुर्वी ब्राजिलका ठाउँहरुमा नाटक मञ्चन अभियानमा थिएँ । हाम्रो नाटकको नायकले भन्यो अब हामीले हाम्रो जमिनको रक्षाका लागि रगत बगाउनु पर्छ । त्यसपछि क्रान्तिकारी गीत गायौँ । हामीहरु भुमिहीत त थिएनौ तर भुमिहिन जस्तै देखिएर त्यहाँ गएका थियौँ । त्यही रुपमा हामीले आफ्नो जमिन रक्षाका लागि भुमिहिनहरुले रगत बगाउनु पर्च भन्ने आसयको गीत गायौँ । नाटक सक्किएपछि एक जना भुमिहिन हामी कहाँ आए र भने– ‘तपाईहरु पनि हामीले जस्तै ठ्याक्कै त्यही सोच्नु हुदो रहेछ । त्यसैले किन तपाईँहरु ती बन्दुकहरु बोकेर आउनु हुन्न । किनभने तपाइँहरुसँग ज्यादै सुन्दर राता बन्दुकहरु रहेछन् । तिनै बन्दुकहरुको माध्यमले केही जमिन्दारहरुको विरुद्धमा लडौँ र हाम्रो जमिन फिर्ता लिउँ । हामी आफ्नो रगत बगाउन तयार छौँ ।’ हामीले भन्यौँ– ‘माफ गर्नुस्, हाम्रा बन्दुकहरु साँच्चिकैका हैनन् । यी त नाटकमा प्रयोग गर्ने देखावटी बन्दुकमात्रै हुन् ।’ त्यसपछि उनीहरुले भने– ‘ठिक छ, बन्दुक त नक्कली हुन् तर तपाइँहरु त निक्कै सजक र गम्भिर हुनु हुँदोरहेछ । तपाईँहरु आउनुस् हामीसँग सबैलाई पुग्ने बन्दुक छन् । लौ जमिनदारहरुको बिरुद्धमा लडौँ ।’ फेरि हामीले भन्यौँ– ‘माफ गर्नुस् हामी साखमा साँच्चैका कलाकार मात्रै हौँ । भुमिहिन हैनौँ ।’ उनीहरुले भने– ‘ए, त्यसोभए साँच्चैका कलाकारहरु तपाईँहरुले हामी साँच्चैका भुमिहिनहरुको चाहिँ साँच्चैको रगत बगाउने कुरा गरिरहनु भएको छ ? तपाइँहरु ऋाफ्नो हैन ?’ अब हामीलाई लाग्यो हामी जुन सन्देश दिन चाहन्थ्यौँ, सकेनौँ । हामी सन्देश दिन सक्थ्यो होला किनभने हामी सहरमा बस्ने गोरा छाला भएका पुरुष थियौ तर त्यति हुँदैमा उनीहरुलाई उनका समस्यासँग लड्ने उपाय चाहिँ दिन नसक्ने रहेछौँ ।
अगस्टो बोयल तपाईँ आफैँ पनि जेलमा हुनुहुन्थ्यो । किन, कसले र कहिले ?
बोआल : सन् १९७१ को कुरा हो । यो थिएटर अफ दि अप्रेस्टको सुरुवाती काल थियो । हामी न्युजपेपर थिएटर गरिरहेका थियौँ । त्यतिखेर सरकारी पुलिसहरु र सरकारले राखेका गुप्तचर सैनिकहरुबाट हामीले निक्कै दुःख पायौँ । नाटक गर्न मात्रै नदिने हैन कि साँच्चै दुःख नै दिन्थे । कहिलेकाहीँ हामी आत्मरक्षाको लागि मञ्चमा जाँदा पनि गोजीमा हतियार लुकाएर जान्थ्यौँ । किनभने तत्कालीन् निरंकुश शासन पद्धतिको विरुद्धमा र सर्वसाधारण नागरिकको पक्षमा नाटक गर्न सजिलो थिएन । त्यसैले हामीले नाटक गर्दा पनि आत्मरक्षाको ख्याल गर्नु पथ्र्यो । त्यतिखेर सैनिकले सर्वसाधारण मान्छे मार्ने र यातना दिने गर्थे । मलाई पनि उनीहरुले त्यसरी नै गिरफ्तार गरे । धन्न म बाँच्न सफल भएँ ।
त्यो अनुभवले तपाईको नाटकप्रतिको धारणामा के परिवर्तन गर्यो ?
बोआल : एक किमिसले अगाडि नै मेरो धारणा परिवर्तन भइसकेको थियो । जतिखेर हामीले भूमिहीनहरुको नाटक गर्यौँ हामीले उनीहरुलाई सन्देश त दियौँ तर त्यही चुनौति चाहिँ आफुले लिन सकेनौँ । चे ग्वेभाराले एउटा सुन्दर कुरा भनेका– ‘सँगसँगै जोखिम उठाउन सक्ने भएमात्रै उनीहरुसँग ऐक्यबद्धता जनाऊ ।’ मैले कुनै जोखिम मोलिन । म त्यहाँ गएँ । नाटक देखाएँ । उनीहरुलाई नाटकमार्फत भने– जाऊ र लड । र म प्लेन चढेर फर्केर आएँ । त्यसैले मेरो सोचाई पहिल्यै परिवर्तन भैसकेको थियो । तर एकान्त बन्दिगृहमा एक्लै बस्दा मैले नयाँ कुरा अनुभव गरेँ । मैले मौनतालाई सुनेँ । मैले आवाज सुनेको थिएँ तर मौनतालाई कहिल्यै सुनेको थिइन । बन्दिगृहमा हँुदा मैले धेरै कुरा सिकेँ । किनभने एक्लो र मौनताको बेलामा आफ्ना सोच र बिचारहरु झन् बलियो भएर आउँदा रहेछन् । र, जब मलाई एउटा बन्दिगृहबाट अर्को बन्दिगृहमा सारियो, मैले निक्कै राजनीतिक व्यक्तिहरुसँग भेट्न पाएँ । मैले केही कुरा सिक्न पाएँ । जब हामीसँग प्रसस्त समय छ, हामी समयको बन्दि हुन्छौँ । हामी यता जान्छौँ, उता जान्छौँ, समय हेछौैँ । तर, जब हामीलाई ठाउँले बन्दी बनाउँछ हामीसँग प्रसस्त समय हुन्छ ।
ब्राजिलमा निरंकुश शासन समाप्त भएपछिको स्थिति कस्तो रह्यो ? र, परिस्थिति कसरी परिवर्तन भयो ?
बोआल : रंगमञ्चमा चाहिँ सेन्सरसिप हुन चोड्यो तर धेरै लामो समयसम्म परिस्थिति उस्तै रह्यो । तर लुलाको कार्यकालदेखि परिस्थिति सुध्रियो । (लुइस इनासियो लुला दि सिल्भा अर्थात् लुला ब्राजिलको ३५ औँ राष्ट्रपति हुन् । ब्राजिलको मजदुर संगठनको अध्यक्ष भइसकेका उनीको जन्म सन् १९४५ मा भएको थयो । लुलाले ३ पटकसम्म चुनावमा हारे । र चौथो पटक सन् २००२ मा राष्ट्रपतिको पदमा चुनाव जिते ।) उनको कार्यकालपछि ब्राजिल साँच्चिकै परिवर्तन भयो । अहिले ब्राजिल १० वर्षअघि जस्तो छैन । एउटा कुरा परिवर्तन नभएकोमा भने म निक्कै पछुतोमा छु । त्यो हो बृहत पुर्नसंरचना । अझै किसानहरुको जमिन गलत व्यक्तिहरुको हातमा छ । उनीहरुले फर्जि कागज बनाएर त्यो भुमि हत्याएका हुन् ।
भुमिहीनहरुको आन्दोलन एमएसटी (Landless Workers’ Movement-Movimento dos Trabalhadores Sem Terra, or MST) बारेमा भन्नुस् न त ?
बोआल : मैले १९६० देखि १९६४ सम्म स्थानीय निकायमा बसेर काम गरेको थिएँ । त्यतिखेर एउटा सिंगै गाउँको भूमिमाथि निर्णय गर्ने एकजना नेता हुन्थ्यो । त्यो प्रजातान्त्रिक थिएन । तर एमएसटीले आफ्नो आन्दोलन सबैतिर फिजाएपछि जमिनमाथिको निर्णय समुहले गर्न थाल्यो एक जनाले हैन । एमएसटीले जग्गाहरु कब्जा गरेर सामूहिक निर्णयको अधिकारभित्र राख्न थाल्यो ।
लुला शक्तिमा आउनुभन्दा अगाडि उनी मजदुर र किसानहरुको हित र अधिकारको कुरा उठाउँथे तर उनी शक्तिमा आएपछि पनि खासै परिवर्तन भएको छैन भनिन्छ ?
बोआल : परिवर्तन भएको छ । धेरै परिवर्तन भएको छ । तर, हो हामीले चाहे जति वा हामीले परिवर्तन गर्नु पर्ने जति चाहिँ भएको छैन । किनभने यहाँ लुलाको राजनीतिक कुटनीतिको कुरा आउँछ । उनी वर्कर्स पार्टीमा काम गर्दा वा मजदुर संगठनको अध्यक्ष भएको बेला पनि सुरुवाति क्षणहरुमा सम्झौता गरेर अघि बढे । अहिले उनी राष्ट्रपति भएपछि पनि उनको सरकारमा धेरै यस्तान प्रतिनिधिहरु छन् जो आफैँ जमिनका मालिक हुन् । ती भुमि मालिकहरुले भुमि सम्बन्धी केही नयाँ निर्णय नगर्न लुलालाई दबाब दिन्छन् । मलाई विश्वास छ लुला सुरुमा सम्झौतामा जाँदैछन् । तर उनीसँग अझै साढे तीन वर्ष बाँकी छ । र, यी साढे तीन वर्षमा धेरै कुरा हुनेवाला छन् ।
जब तपाईँहरु संयुक्तराज्य अमेरिकातिर फर्केर हेर्नु हुन्छ, दक्षिणतिरबाट हेर्दा यो कस्तो देखिन्छ ?
बोआल : (हाँस्दै) मेरो विचारमा दक्षिण, उत्तर, पुर्व, पश्चिम वा तलमाथि जताबाट हेरेपनि संयुक्तराज्य अमेरिका उस्तै देखिन्छ । म के देख्छु भने एउटा यस्तो देश ऊ जे चाहन्छ त्यही गर्छ । देश पनि हैन, म के देख्छु भने एउटा समुह वा ठुलो संगठनले ऊ जे गर्न चाहन्छ त्यही निर्णय गर्छ । उनीहरु कसैलाई वास्ता गर्दैनन् । सम्मान गर्दैनन् । उनीहरुले इराकको त्यस्तो दुर्गति बनाए । ५ लाखभन्दा बढि मानिसहरु मारिए । सबै त अमेरिकाको कारणले मात्रै हैन उनीहरु आफैले गर्दा पनि हो । र, ३५ सयभन्दा अमेरिकी सैनिकहरु मारिए । तिनीहरुसँग धेरै मानिसहरु मार्ने बमहरु छन् भन्ने बहानामा अमेरिकीहरु तिनलाई मारिरहेका छन् । संयुक्त राष्ट्रसँगले त्यस्तो हैन भन्यो फेरि हो भन्यो । तिनीहरु आफै कुरा बनाउँछन् । यसो गर्न उनीहरु बानिपरिसकेका छन् । हामी त्यस किसिमको सरकारलाई समर्थन गर्न सक्दैनौँ । मेरो धेरै साथीहरु संयुक्त राज्य अमेरिकामा छन् । उनीहरुलाई म धेरै माया गर्छु । र, म यहाँका धेरै कुराहरु मन पराउँछु । तर, अमेरिका स्वतन्त्र सरकार मन पराउँदैन । र, अरु देशका नागरिकहरुको स्वतन्त्रताको सम्मान गर्दैन । अमेरिकी सरकार त्यही गर्छ जेमा उसलाई फाइदा छ । यद्यपि अमेरिकी क्रान्तिप्रति हाम्रो सकारात्मक धारणा छ । ब्रिटेन विरुद्धको आन्दोलनमा धेरै अमेरिकी नायकहरुको कथा छ । तर फेरि पनि अहिलेको सरकारले जसरी आफ्ना जनताहरुको राय नलिइकन निर्णय गर्छ त्यो नराम्रो कुरा हो । मेरा विचारमा यसदेशका बहुमत जनताले अमेरिकाको वर्तमान नीतिमाथि सहमति जनाउँदैनन् ।
अगस्टो बोआल तपाईँ के कुरा पुरा होस् भन्ने चाहनु हुन्छ ?
बोआल : धेरै कुरा चाहन्छु । म धेरै कुराको आशा गर्छु । किनकि म जहिल्यै अगाडि हेर्छु र सकारात्मक रुपमा हेर्छु । मलाई लाग्छ हामीले सपनादेख्नु पर्छ र परपरसम्मको सपना देख्नु पर्छ । हो, हामीलाई थाहा छ त्यो सपना हो । तर हामीहरुले जहिल्यै धेरै परको सपना देख्नु पर्छ किनभने हामी अगाडि बढ्न चाहन्छौँ । र, अगाडि बढ्नको लागि सपना चाहिन्छ ।
के हो त्यो सपना ?
बोआल : मेरो जीवनमा एउटा मात्रै सपना छ त्यो मेरो जिन्दगीको सपना । यसलाई म सपना जस्तै बनाउन चाहन्छु । यदि म अरु कुराहरुको सपना देख्छु भने– म महिला र पुरुषमा समानता देख्न चाहन्छु । काला र गोरा वा फरकफरक देशहरु सबै मिलेर बसेको देख्न चाहन्छु । जीवनको एउटा मुल्य र मान्यता सृजना गर्नको लागि । कहिलेकाहिँ मुल्य र नैतिकता (इथिक्स र मोरल)लाई हामी एकै ठान्छौँ । तर यी फरकफरक कुरा हुन् । नैतिकता भनेको बाहिरी आवरण हो । मेरो देश दासताबाट आएको हो । गोराहरुले कालाहरुलाई किन्नु भनेको त्यतिखेर नैतिक कुरा थियो । यो ज्यादै ज्याद्रो कुरा हो । त्यसैले म नैतिकतावादी हैन । नैतिकता भित्र धेरै त्रासद कुराहरु छन् । तर म मुल्य र मान्यतावादी हु । इथिकल भनेको ग्रिक मिथमा कुनै किसिमको पुर्णताको नजिक पुग्ने कोसिस गर्ने हो । मैले चाहेको पुर्णताको अभ्यास भनेको समानता, सम्बाद र लोकतन्त्र हो । साँचो अर्थको लोकतन्त्र भनेको हु मैले । बाहिर देखिने खालको लोकतन्त्र हैन । तर, यो अभ्यास चलिरहनु पर्छ । एक ठाउँमा पुगेर यही नै सधैँको लागि सत्य हो भन्ने हैन । यो पुर्णताको अभ्यास हो तर सधैँभरि चलिरहनु पर्छ । सम्वाद रोकिनु हुदैन । एकजना स्पेनिस् कविको एउटा कविता सम्झन्छु ।
बाटो पहिल्यै त्यहाँ हुदैन
तिमीले त्यहाँ हिँडेपछि बाटो बन्ने हो
(The path doesn’t exist
the path you make by walking on it)
त्यसैले हामीलाई थाहा छैन बाटोले कहाँ पुर्याउँछ । तर हामीलाई त्यो दिशा थाहा छ जतातिर हामी बाटो बनाउन चाहन्छौँ । म एउटा विन्दुमा पुगेर बाटो पुरा गर्न चाहन्न । सधैँ अगाडि बढ्न चाहन्छु जहिलेसम्म म सक्छु ।
(हाँस्दै) ए, त्यसोभए आज यहाँसम्म तपाइँले आफ्नो बाटो बनाउनु भएकोमा धन्यवाद ।
(अंग्रेजीबाट अनुवाद—घिमिरे युवराज)
साभार : इमूल्यांकन