सिमाक्षेत्रबाट गैरकानुनी प्रवेश गर्ने बालबालिकालाई जेलहाल्ने र देशनिकाला गर्ने कानुन निर्माणका लागि ट्रम्पको दबाब
प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गर्न बालबालिकालाई जेल हाल्न र तुरुन्त देशनिकाला गर्न मिल्ने गरी कानुनमा परिवर्तनका लागि सदनलाई दबाब दिएका छन् । अध्यागमन कानुनमा भएका छिद्रका कारण बालबालिकालाई जेल हाल्न र तुरुन्त देशनिकाला गर्नमा समस्या भएको भन्दै त्यस्ता छिद्र बन्द गर्न दबाब दिइएको हो ।
तर ट्रम्पको यस्तो प्रस्तावका बिरुद्ध ठूलो संख्यामा रहेका डेमोक्रेटिक र रिपब्लिकनहरुका कारण यो प्रस्तावको कार्यान्वयन सिमा क्षेत्रमा पर्खाल लगाइने विषयको कार्यान्वयन भन्दा पनि कठिन भएको बिश्लेषकहरुको भनाई छ । अहिलेसम्मको कानुन अन्तरगत सिमाक्षेत्रमा पक्राउ परेका बालबालिकाहरुलाई शरणार्थी व्यवस्थापन अफिसमार्फत डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसमा पठाउनुपर्ने हुन्छ । त्यसपछि उनीहरुका बुबाआमा, आफन्त वा स्पोन्सर पत्ता लगाएर सरकारले त्यस्ता बालबालिकालाई उनीहरुका जिम्मा लगाउनुपर्ने हुन्छ ।
ट्रम्प प्रशासनले हालसालै सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका झण्डै १५ सय बालबालिकाहरु कहाँ छन् भन्नेबारेको रेकर्ड गुमाएको दावी गर्दै आएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका डेपुटी सेक्रेटरी एरिक हर्गानका अनुशार एकपटक छुटिसकेपछि ९० प्रतिशत बालबालिकाहरु र उनीहरुलाई स्पोन्सर गर्नेहरुका बारेमा ट्रयाक गर्न मुस्किल हुने गरेको बताएका छन् ।