नेपाल डे परेड आम नेपालीको साझा कार्यक्रम हो : लुईसाङ वाइबा
प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार
अमेरिकामा हुने कार्यक्रम मध्ये नेपाली राष्ट्यिता र देशकै गौरवको कार्यक्रम हो नेपाल डे परेड । परदेशमा देश प्यारो हुन्छ भन्ने अनुभुति सबैले गर्न यो कार्यक्रम सहयोगी हुँदै आएको छ । विश्वको राजधानीका रुपमा परिचित न्यूयोर्क शहरमा शानले नेपाली झण्डा फहराउने यस कार्यक्रमलाई आम नेपालीले आफ्नो कार्यक्रमका रुपमा लिएका छन् ।
तर तेश्रो नेपाल डे परेड हुँदा सम्म यसको चर्चा भन्दा बढ्दा चरित्र माथी कुरा गरियो । यसका आयोजकहरु माथी केही प्रश्नहरु खडा भए । अर्को अर्थमा भनौं टाउकेहरुको जुँगाको लडाईँले यो कार्यक्रम चेपुवामा पर्यो । आफु जन्मेको देश र देशको सँस्कृतिलाई विश्व समुदायमा झल्काउन गरिने यस खालका कार्यक्रम बिना विवाद हुनु जरुरी छ । तेश्रो परेड सम्म आई पुग्दा नेपाली समुदाय बिभाजित समेत हुन पुग्यो ।
नेपाल डे परेड हामी सबैको हो भन्ने अनुभुति गराउन नसक्नु यस कमजोरी थियो । अब आउँदा कार्यक्रमहरु बिना विवाद नेपाली समुदाय खुलेर यसमा सहभागि हुनका लागि आयोजकहरुले बेलैमा सोच्नुपर्ने जरुरी देखिन्छ । २०१८ को परेड हुँदा किन विवाद बढी भयो, किन नेपाली समुदाय बिभाजित भयो, किन आम नेपाली यस कार्यक्रममा खुलेर सहभागि हुन सकेनन् । के विवाद गरेर नेपाल डे परेड कार्यक्रम बन्द गर्ने मेसो हो ? यसै सन्दर्भमा यस नेपाल डे परेड कार्यक्रमका शुत्रधार, परेड २०१६ का कन्भेनर, नेपाल डे परेड २०१८ को नेराघेरामा सबै भन्दा बढी खोजी भएका व्यक्ति लुइसाङ वाइबा तामाङसंग खसोखासका प्रवन्ध सम्पादक अनिल अधिकारीले गरेको कुरानकानी ।
नेपाल डे परेडको धारणा कसरी बन्यो ?
हामी परदेशमा छौं । बिवाह गरेर गएकी चेलीलाई माइती प्यारो हुन्छ भने जस्तै हामी परदेशीलाई देश प्यारो हुन्छ । हामी जन्मे हुर्केको देशको बखान गर्नु हाम्रो दायित्व र कतव्र्य हो । यही मान्यता अनुरुप हामीले हामी जन्मेको देशको झण्डा शानले फहराउनु पर्छ भन्ने उदेश्यले यो कार्यक्रमको शुरुवात भएको हो । तेश्रो नेपाल डे परेड हुँदा सम्म केही विवाद भएपनि यस कार्यक्रमले नेपालको भाषा, सँस्कृति, भेषभुषा अन्तराष्टिय जगतमा परिचित गराउन सहयोगी हुँदै आएको छ ।
तपाई यसको सस्थापक तथा २०१६ को कन्भेनर २०१८ मा आइपुग्दा तपाईकै बढी बिरोध र चर्चा भयो किन ?
म आदीवासी जनजाती महासंघ फिप्नाको अध्यक्ष थिएँ । हामीले नेपाल डे परेडको शुरुवात गर्ने सोच बनाएपछि मैले आफु अध्यक्ष भएको सस्थाबाट कार्यक्रम गरौं भनेर साथीहरुलाई प्रस्ताव गरेँ सोही अनुरुप अस्थायी रुपमा फिप्नाको ट्याक्स आइडी प्रयोग गरेर यो कार्यक्रम सम्पन्न गर्यौं । मेरो कार्यवधि २०१७ को डिसेम्वरमा सकियो २०१७ को परेड हुँदा सम्म हामीले त्यही अस्थायी प्रयोजनलाई आधार बनायौं २०१७ मे को अन्तिममा नेपाल डे परेड इन्क दर्ता भएको छ, त्यो बेला सम्म मात्रै फिप्नाको ट्याक्स आइडी अस्थायी प्रयोजनका लागि प्रयोग भएको हो तर वर्तमान कार्य समितिले नेपाल डे परेड फिप्नाकै हो, यसको स्थायी आयोजक फिप्ना नै हो भन्ने ढंगले प्रचार गर्नुभयो, त्यो नै गलत हो ।
फिप्नाको सदस्य सस्थाहरुलाई समेत वर्तमान कार्यसमितिका केही पदाधिकारी साथीहरुले सोही भ्रम छर्न सफल हुनु भयो । त्यसैको परिणाम स्वरुप मेरो बिरोध भयो अनि कार्यक्रम असफल बनाउन प्रयास गरियो । नेपाल डे परेड कुनै संघ सस्था वा व्यक्तिको होइन र हामीले सोही अनुरुप यसलाई अमेरिकी कानुन अनुसार दर्ता गरेका छौं । र आगामी दिनमा समेत सोही अनुसार कार्यक्रम गर्नुपर्छ ।
तपाईले आर्थिक अपचल गर्नुभयो भन्ने पनि आयो नि के हो कुरा ?
म माथी नियोजित रुपमा लागियो । मेरो सामाजिक संजाल मार्फत चरित्र हत्या गर्ने प्रयास भयो । म सार्वजनिक आव्हान गर्न चाहन्छु यदी आर्थिक अपचलन भएको तपाईहरुसंग प्रमाण छ भने म कानुनी तथा सामाजिक रुपमा अपराधको सजाएँ भोग्न तयार छु । यस कार्यक्रमलाई लिएर फिप्नाको वर्तमान कार्यसमिति म माथी जाई लागेको मात्रै हो । मैले एक पेनी पनि अपचलन गरेको देखाउनुस म सजाएँ भोग्न तयार छु ।
अमेरिकामा रहेका केही सञ्चारकर्मीले समेत सामाजिक संजालमा मेरा बारेमा आर्थिक अनियमितता भएको भन्ने बारे स्टाटस लेख्नुभयो तर मलाई के हो लुईसाङ भनेर सोध्ने हिम्मत गर्नुभएन । म प्रस्ट पार्न चाहन्छु कि आर्थिक अपचलन भएको छैन् । हामीसंग सबै प्रमाण छ २०१६ र २०१७ को कार्यक्रम भएको फिप्नाको छुटै बैक खाता छ त्यो म देखाउन सक्नु अनि आइआरएसमा गरिएको ट्याक्स फाइल छ कही कतै अपचल भएको छैन् । म बाट गल्ती एउटा मात्रै भएको हो । २०१७ को कन्भेर अर्कै भएपनि समयमै खर्च विवरण सार्वजनिक गर्न ढिलाई मात्रै भएको हो, मैले सबै हिसाव अहिलेको कमिटिलाई समेत दिएको छु । कुनै अपचलन भएको छैन् ।
परेड मार्फत नेपालबाट मान्छे ल्याउने प्रयास भयो भन्ने पनि छ नि के हो ?
यो सरासर झुठा हो । हामीले २०१६ देखी २०१८ सम्म आईपुग्दा कुनै कार्यक्रममा पनि त्यस्तो गरेका छैनौं । यदी कसैले त्यो देखाउन सक्छ भने हामी सजाएँ भोग्न तयार छौं । यदी नेपालमा रहेको अमेरिकी दुतावासमा पठाएको पत्रको हस्ताक्षर देखाउनुस हामी सजाएँ भोग्न तयार छौं । सामाजिक तथा कानुनी रुपमा दण्डित हुन तयार छौं । मन गणन्ते कुरा गरेर व्यक्तिको चचित्र हत्या गर्ने प्रयास नगरियोस सञ्चारकर्मी र सञ्चार माध्यमलाई म बिनम्र पूर्वक आग्रह गर्दछु । यो मात्रै भ्रम छर्ने प्रयास हो । प्रमाणहरु सार्वजनिक गर्नुस कानुन अनुसार म दण्डित हुन तयार छु ।
तिन जनाको नाममा मात्रै नेपाल डे परेड इन्क दर्ता भयो भन्ने छ नि यस बारेमा के भन्नु हुन्छ ?
अमेरिकाको कानुन अनुसार शुरुमा कुनै पनि संघ सस्था दर्ता गर्दा तिन जनाको नाममा मात्रै हुन्छ शुरुवातमा त्यसपछि तर्दथ समिति मार्फत साधारण सभा हुन्छ अनि पूर्ण कार्यसमितिको नाममा सस्था दर्ता हुन्छ । हामीले त्यही प्रयास गरेको हो । यो परेड कुनै व्यक्ति वा समुहको होइन आम नेपालीको कार्यक्रम हो भन्ने बनाउनका लागि मैले यसको शुरुवात यसरी गरेको हुँ ।
अहिले तदर्थ समिति बनेको छ, यसले भेला मार्फत समितिलाई पूर्णता दिन्छ अनि त्यही समितिको नाममा सस्स्था दर्ता हुन्छ । अब अमेरिकामा रहेका कृयाशिल संघ सस्थाका पदाधिकारी र प्रतिनिधिहरुको सहभागितामा समितिलाई पूर्णता दिइन्छ सोही अनुसार अर्को बर्षको कार्यक्रम हुन्छ । हुने प्रकृया यही हो, यहाँ म जोड्न चाहन्छु कि यो फिप्ना या कुनै समुह र संघ सस्थाको कार्यक्रम नेपाल डे परेड होइन् ।
अब बिवाद मात्रै गर्ने कि समाधान तर्फ पनि लाग्ने त ?
मैले माथी जति कुरा उल्लेख गरेँ त्यो बिवाद समाधान होस भन्नका लागि नै हो । म सबै पक्षसंग छलफल गर्न तयार छु, नेपाल डे परेड हुनु महिना दिन अगाडी मात्रै यसको खोजी नगरौं म आजै देखी छलफल गर्न तयार छु । फिप्नाका सदस्य संघ सस्थाहरुलाई जोडेर म छलफल हुनुपर्छ भन्ने मान्यतामा छु । यदी फिप्नाको वर्तमान कार्यसमिति यसरी छलफल गर्न तयार छैन भने म नेपाल सरकारका प्रतिनिधि र अन्य स्वतन्त्र निकायलाई राखेर विवाद समाधान गर्नका लागि बस्न तयार छु, खर्चको विवरण आइआरएसमा फाइल गरेको कपि लिएर म आउँछु । आउनुस बसेर नेपाल डे का विवाद समाधान गरौं । अर्को बर्ष हामी सबै बिना विवाद यस कार्यक्रममा सहभागि हुने वातावरण बनाउन म सम्वन्धीत सचेत निकाय समक्ष बिनम्रता पूर्वक आग्रह गर्न चाहन्छु ।
अन्तमा केही भन्नु छ कि ?
समयमै यसको विवाद समाधान गरी अर्को बर्ष सबै खुसीले सहभागि हुने वातावरण बनाउनका लागि मेरा केही भनाई राख्ने मौका दिनु भएकोमा खसोखासलाई धन्यवाद । हामी यो समाजका सचेत नागिरक हौं । हामी भ्रमको पछि नलागौं । देशको झण्डा शानले फहराउनका लागि वातावरण बनाऔं ।
बिशेषगरी फिप्नका सदस्य सस्थाहरु तपाई हामी विवाद नगरौं । तपाईहरुलाई भ्रममा राखिएको छ । भ्रम मुक्त हुनुहोस । केही साथीहरु यस नेपाल डे परेडलाई अन्त्य गर्ने उद्धत हुनुहुन्छ तपाई हामी सचेत भएर त्यो भ्रम चिर्नु आवश्यक छ । मैले यसै संचार माध्यम मार्फत सबै कुरा प्रष्ट पार्ने प्रयास गरेको छु । यदी केही कुरा भए म सार्वजनिक छलफल गरे अगाडि बढ्न चाहन्छु । नेपाल डे परेड तपाई हामी सबैको साझा कार्यक्रम हो । यसलाई सोही अनुसार आगामी बर्ष सफल बनाउँदै लैजाने जिम्मेवारी तपाई हाम्रै हो । तपाई हामी सबैको जय होस ।