आइसका लागि १७ बर्ष काम गरेका अमेरिकी वकिललाई ४ बर्ष जेल
प्रकाशित मिति : असार १५, २०७५ शुक्रबार
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका लागि काम गर्ने अमेरिकाका एकजना बरिष्ठ अध्यागमन वकिललाई ४ बर्षको जेल सजाय दिइएको छ । उनलाई आप्रवासीहरुको परिचय चोरेको तथा पीडितहरुलाई पीडा दिएको अभियोगमा ४ बर्षको जेल सजाय सुनाइएको हो ।
राफेल सान्जेचजले सन् २००१ देखि नै आइसका लागि काम गर्दै आएका थिए भने सन् शियाटलमा प्रमुख कन्सुलका रुपमा काम गर्दै आएका थिए । उनलाई १ लाख ९० हजार अमेरिकी डलर जरिवानाको समेत सजाय सुनाइएको छ ।
उनले नक्कली परिचयका कागजातहरु बनाएका साथै आइसमा रहँदा पदको दुरुपयोग गरेर व्यक्तिगत स्वार्थपूर्ती गरेका थिए । आन्तरिक अनुसन्धानका क्रममा उनले जालसाजी गरेको भेटिएपछि डिपार्टमेन्ट अफ जस्टिसले सन् २०१७ मा उनीबिरुद्ध मुद्दा दायर गरेको थियो ।
१७ बर्षदेखि आइसका लागि काम गर्दै आएका उनले ६ फिगरको उच्च तलब प्राप्त गर्दै आएका थिए । ४४ बर्षका राफेलले पीडितका नाम, सोसल सेक्युरिटी नम्बर र अन्य बिबरणहरु प्रयोग गरेर बैंक एकाउन्टहरु खोलेको, क्रेडिट कार्डहरु लिएको, इमेल एकाउन्टहरु खोलेको पत्ता लागेको छ ।