अमेरिकी नागरिकता खोस्नसक्ने ‘अपरेशन जानुस’ : कैयन नेपाली समेत जोखिममा
प्रकाशित मिति : असार २०, २०७५ बुधबार
– किशोर पन्थी
केही दिन अगाडि एकजना भारतीय बलजिन्दर सिंहको अमेरिकी नागरिकता खोस्ने फैसला गर्यो अमेरिकी अदालतले । न्युजर्सीको जिल्ला अदालतका न्यायाधिसले सिंहको अमेरिकी नागरिकताको प्रमाणपत्र खारेज गर्दै उनलाई ग्रिनकार्ड होल्डरका रुपमा रुपान्तरण गरिदिए । यो फैसलापछि बलजिन्दरको ग्रिनकार्ड समेत खोसेर अन्तत अमेरिकाबाट देशनिकालासम्म हुनसक्ने सम्भावना रहेको छ । बलजिन्दर सिंहको नागरिकता खोसाई अमेरिकी सरकारको नागरिकता खोस्ने ‘अपरेशन जानुस’ अन्तरगतको पहिलो सफलता हो । अर्थात् ‘अपरेशन जानुस’ को पहिलो शिकार बनेका छन् बलजिन्दर सिंह ।
त्यस्तै फरबरी १४ मा ‘अपरेशन जानुस’ अन्तरगत नै एकजना आप्रवासीको डिभीबाट प्राप्त अमेरिकी नागरिकता खोस्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले मिसिगनको अदालतमा मुद्दा दायर गरेको छ । युएससीआईएसले डिपार्टमेन्ट अफ जस्टिसलाई साफी उदिद्न उर्फ कबिर तालुकदार उर्फ कबिर रहमानको मुद्दा हस्तान्तरण गरेको हो । उनको पनि अमेरिकी नागरिकता खोसेर देशनिकालासम्म हुनसक्छ । उनले अमेरिका आइसकेपछि डिभी लोटरी भरेर डिभी परेपछि अमेरिकी ग्रिनकार्डहुँदै नागरिकता प्राप्त गरेका थिए ।
के हो ‘अपरेशन जानुस’
‘अपरेशन जानुस’ अमेरिकी सरकारले त्यस्ता व्यक्तिबिरुद्ध लक्ष्यित गरिरहेको छ, जसले आफ्नो सक्कली पहिचान लुकाएर वा नक्कली पहिचान बनाएर अमेरिकी सरकारलाई झुक्याएर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताप्राप्त गरेका छन् । आपराधिक गतिविधि भएका वा उपयुक्त कागजातविना नै अमेरिका छिरेका तर नागरिकताप्राप्त गर्नेबेलामा युएससीआईएसले त्यो विवरण प्राप्त गर्न नसकेकाहरुमाथि अमेरिकी सरकारले अहिले ‘अपरेशन जानुस’ अन्तरगत छानविन गरिरहेको छ ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको माताहतमा संचालित ‘अपरेशन जानुस’ ले अमेरिकी सरकारको प्रणालीमा ३ लाख १५ हजार व्यक्तिका फिंगरप्रिन्टहरु केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा नरहेको पत्ता लगाएको थियो । फिंगरप्रिन्ट डाटाको अभावमा कैयनका आपराधिक वा अन्य जालसाजीपूर्ण विगत पत्ता नलागेका कारण युएससीआईएसले उनीहरुलाई अमेरिकी नागरिकता दिएको पत्ता लागेपछि अहिले उनीहरुबारे छानविन भइरहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र डिपार्टमेन्ट अफ जस्टिसबीचको समन्वयमा गैरकानुनी रुपमा अमेरिकी नागरिकता प्राप्त गरेकाहरुको नागरिकता खोस्ने अभियान चलाइएको हो ।
‘अपरेशन जानुस’ अन्तरगत इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले देशनिकालाको आदेश पाइसकेका, फरार सुचीमा रहेका र अपराध प्रमाणित भएका १ लाख ४८ हजार जनाका पूराना फिंगरप्रिन्ट डाटाहरु डिजिटाइज नगरिएको र ती फिंगरप्रिन्टहरु एफबीआईसमक्ष नपुगेको पत्ता लगाएको थियो । विगतमा इमिग्रेशन इन्काउन्टरमा लिइएका सबै तथ्यांक र फिंगरप्रिन्ट एफबीआईमा पठाउने चलन नरहेकाले एफबीआईसँग पनि त्यस्ता तथ्यांकहरु थिएनन् । त्यसैले कतिपय देशनिकालाको आदेश पाइसकेका, फरार सुचीमा रहेका र अपराध प्रमाणित भएका व्यक्तिले समेत पहिचान ढाँटेर ग्रिनकार्ड वा नागरिकताको लागि आवेदन दिंदा लिइने फिंगरप्रिन्टबाट त्यस्ता व्यक्तिको विगतको सबै इतिहास पत्ता लगाउन मुस्किल थियो । तर अहिले सबै फिंगरप्रिन्ट डाटाहरु एकमुष्ठ गर्दै जाँदा एफबीआई चेकका बेलामा ३ लाख १५ हजारका फिंगरप्रिन्ट डाटाहरु छुटेको पत्ता लागेको हो ।
किन खोस्न खोजिदैछ रहमानको नागरिकता ?
कबिर रहमान सन् १९९२ को फरबरीमा जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । त्यतीबेला उनले आफ्नो नाम गानु मियाह भएको विवरण दिएका थिए । त्यसपछि उनले अमेरिकामा एसाइलमका लागि आवेदन दिएका थिए । उनको मुद्दा अध्यागमन अदालतमा पुगेपछि उनलाई देशनिकालाको आदेश दिइएको थियो ।
सन् १९९४ मा गानु मियाहको नामको मुद्दा अगाडि बढिरहदा उनले साफी उद्दिनका नामबाट अर्को एसाइलम फाइल गरे । त्यो मुद्दा पनि अध्यागमन अदालतमा पुगेर सन् १९९७ मा उनलाई देशनिकालाको आदेश दिइएको थियो । सन् १९९७ मा उनले कविर तालुकदारको नाममा डिभी भरेर डिभी लोटरीमार्फत ग्रिनकार्ड पाएका थिए । उनले त्यतीबेला आफू क्यानडाबाट अमेरिकामा कारमा आएको दाबी गरेका थिए । पछि सन् २००४ मा उसले डिभी लोटरीमार्फत प्राप्त ग्रिनकार्डबाट अमेरिकी नागरिकता प्राप्त गरेका थिए ।
परिचय ढाँटेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेको कारण उनको नागरिकता खोस्नका लागि अहिले अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको हो । उनका विभिन्न एजेन्सीहरुले लिएका केही फिंगरप्रिन्टहरु एफबीआईले प्राप्त नगरेका कारण उनले जालसाजी गरेको त्यतीबेला पत्ता लगाउन कठिन भएको थियो । तर अहिले ‘अपरेशन जानुस’ अन्तरगत उनका छुटेका फिंगरप्रिन्ट डाटाहरु खोज्दै जाँदा उनले जालसाजी गरेको विवरण फेला परेका हुन् ।
किन खोसियो बलजिन्दरको नागरिकता ?
भारतीय नागरिक बलजिन्दर सिंह १७ बर्षको उमेरमा सन् १९९१ को सेप्टेम्बर २५ मा सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा आएका थिए । त्यतीबेला उनीसँग कुनै ट्राभल डकुमेन्ट वा परिचय खुल्ने कागजात थिएन । उनले आफ्नो नाम देभिन्दर सिंह भएको दाबी गरेका थिए । त्यसपछि उनलाई अदालती प्रकृयामा राखिएको थियो । तर उनी इमिग्रेशन अदालतमा उपस्थीत भएनन् । सन् १९९२ को जनवरी ७ मा उनलाई अध्यागमन अदालतले देशनिकालाको आदेश दियो ।
त्यसको चारसातापछि उनले फरबरी ६ सन् १९९२ मा बलजिन्दर सिंहका नामबाट एसाइलम फाइल गरे । त्यतीबेला उनले अध्यागमन अधिकारीको निरिक्षणबिना लुकीछिपी अमेरिका छिरेको दावीका साथ एसाइलम फाइल गरेका थिए । तर उनले पछि एकजना अमेरिकी नागरिकसँग विहे गरेपछि एसाइलमको आवेदन परित्याग गरे । त्यसपछि श्रीमतिका नामबाट ग्रिनकार्ड फाइल गरे । बलजिन्दर सिंहले सन् २००६ को जुलाई २८ मा अमेरिकी नागरिकताप्राप्त गरे । उनी न्युजर्सीमा बस्दै आएका थिए । ‘अपरेशन जानुस’ अन्तरगत उनको यो सबै इतिहास पत्ता लागेपछि गत सेप्टेम्बरमा उनको नागरिका खोस्न मुद्दा दायर गरिएको थियो ।
मोहम्मद अख्तरको पासपोर्टमा आफ्नो फोटो टाँसेर सन् १९७१ मा अमेरिका आएका पाकिस्तानका प्रवेज मञ्जुर खानलाई पनि नागरिकता खोस्नका लागि अमेरिकी सरकारले अदालतमा मुद्दा दायर गरेको छ । आफ्नो नाम जावेद खान रहेको बताउदै उनले एसाइलम आवेदन हालेका थिए । तर पनि इमिग्रेशन अदालतले सन् १९९२ मा उनलाई देशनिकालाको आदेश दिएको थियो । पछि उनले अमेरिकी नागरिकसँग विहे गरेर ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गरेका थिए । त्यस्तै पाकिस्तानका रसिद मोहम्मदले पनि अर्कै नामबाट नक्कली ग्रिनकार्ड प्रयोग गरी अमरिका आएर एसाइलम फाइल गरेपछि देशनिकालाको आदेश पाएपनि पछि अमेरिकी नागरिकसँग विहे गरेर अमेरिकी नागरिकता प्राप्त गरेका थिए । उनको नागरिकता खोस्न पनि अदालतमा मुद्दा चलिरहेको छ ।
‘अपरेशन जानुस’ ले हजारौंको नागरिकता खोस्नसक्ने
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ‘अपरेशन जानुस’ अन्तरगत जालसाजी गरेर अमेरिकी नागरिका लिएका हजारौंको अमेरिकी नागरिकता खोसिन सक्ने चेतावनी दिएको छ । देशनिकालाको आदेश पाइसकेका कम्तीमा ८ सय ५८ जनाले पहिचान ढाँटेर अमेरिकी नागरिकता लिएको युएससीआईएएसले पत्ता लगाएपछि ‘अपरेशन जानुस’ सुरु गरिएको हो । ‘अपरेशन जानुस’ अन्तरगत अहिलेसम्म झण्डै १६ सय जनाबिरुद्धका अभियोजन तयार पारिसकिएको छ । पुराना फिंगरप्रिन्ट रेकर्डहरु डिजिटाइज्ड नगरिएका कारण युएससीआईएसले जोखिम उठाएर कैयन व्यक्तिका नागरिकता आवेदनहरु स्वीकृत गरेको थियो ।
तर अब अहिले पूराना विवरणहरु खोजेर ‘अपरेशन जानुस’ अन्तरगत छानविन तीब्र पारिएको छ । जसका कारण कैयन बर्षपहिले अमेरिकी नागरिकता लिएर घरपरिवारसहित बसिरहेकाहरुले पनि देशनिकालाको सामना गर्नुपर्ने अवस्था आएको छ । अमेरिकन दम्पत्ति र बच्चाबच्ची भइसकेकाहरुलाई अमेरिकी नागरिकता खोसेर देशनिकालाको प्रकृयामा लैजानु मानवीय दृष्टिकोणले सहज भने छैन । अमेरिकी नागरिकता खोसिएपनि तत्कालका लागि उनीहरुको ग्रिनकार्ड खोसिएको छैन । तर कालान्तरमा उनीहरुको ग्रिनकार्ड समेत खोसेर वा रिन्यु नगरेर देशनिकालाको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।
कैयन नेपालीहरु समेत जोखिममा
केन्द्रीय डिजिटल फिंगरप्रिन्ट भण्डारमा फिंगरप्रिन्टका सबै डाटाहरु नहुनेमा नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ । अरुकै भिसा र पासपोर्टमा आफ्नो फोटो टाँसेर नाम ढाँटेर अमेरिका छिर्नेहरु वा अनुहार उस्तै उस्तै रहेका कारण अरुको पासपोर्ट र भिसामा अमेरिका छिर्नेहरु ‘अपरेशन जानुस’ को फन्दामा पर्नसक्ने सम्भावना रहेको छ । त्यस्तै गैरकानुनी रुपमा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका छिरेर आफ्नो पहिचान ढाँटेर अमेरिकी नागरिकता प्राप्त गरेकाहरुसमेत ‘अपरेशन जानुस’ को निशानामा पर्नसक्ने सम्भावना रहेको छ ।
खासगरी सन् २००७ भन्दा अगाडि फिंगरप्रिन्ट भण्डारण गर्ने उपयुक्त संयन्त्रको अभावमा व्यक्तिले सजिलै आफ्ना विवरणहरु ढाँट्न सक्ने अवस्था थियो । त्यसैले त्यो भन्दा अगाडि अमेरिका आएर नागरिकता लिनेहरुका सन्दर्भमा मात्र ‘अपरेशन जानुस’ बढी केन्द्रीत रहेको छ । त्यसपछि अमेरिका आउनेहरुको फिंगरप्रिन्ट सिधै केन्द्रीय भण्डारणमा जम्मा हुने भएकाले विवरण ढाँट्न सम्भव छैन ।
कसरी छुटे फिंगरप्रिन्ट ?
सन् २००७ मा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले केन्द्रीय डिजिटर फिंगरप्रिन्ट भण्डारको स्थापना गरेको हो । सन् २००८ देखि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अध्यागमन कारवाहीका क्रममा लिने फिंगरप्रिन्ट एफबीआई र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको भण्डारसँग भिडाउन थालिएको हो । त्यसपछि अरु एजेन्सीले लिने फिंगरप्रिन्टका डाटा पनि केन्द्रीय भण्डारमा पठाउन र भिडाउन थालिएको हो ।
पहिले फिंगरप्रिन्टका डाटाहरु डिजिटाइज नभएका कारण र कागजको टुक्रामा लिइने भएका कारण त्यस्ता डाटाहरु राख्ने केन्द्रीकृत प्रणाली चुस्त थिएन । पछि कागजमा लिइएका फिंगरप्रिन्ट स्क्यान गरेर राख्ने क्रममा कैयन फिंगरप्रिन्टहरु छुटेका थिए । आइसले सन् २०१० पछि काजगमा लिइएका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा अपलोड गर्नका लागि नेतृत्व लियो । सन् २०११ मा आइसले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको डाटाबेसमा सन् १९९० देखि फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएकाहरुको विवरण खोज्न थाल्यो । त्यतीबेला आइसले ३ लाख १५ हजार जनाका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा नरहेको पत्ता लगायो । हाल फिंगरप्रिन्ट कागजमा लिने प्रणाली नरहेकाले यो नम्बर बढेको छैन ।
सन् २०१२ देखि आइसले ती ३ लाख १५ हजारका कागजमा रहेका फिंगरप्रिन्टहरु केन्द्रीय भण्डारमा अपलोड गर्न थाल्यो । उनीहरु फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएकाहरु रहेका थिए । ३ लाख १५ हजारमध्ये आइसले जम्मा १ लाख ६७ हजारका फिंगरप्रिन्टमात्र अपलोड गर्न सक्षम भयो । किनभने बाँकीका कागजमा लिइएका फिंगरप्रिन्ट या त हराएका थिए, या त स्क्यान गर्न मिल्ने गरी स्पष्ट थिएनन् । फरार सुचीमा रहेका, अपराध प्रमाणित भएका र देशनिकालाको आदेश पाएका १ लाख ४८ हजारका फिंगरप्रिन्ट संकलन गर्न सम्भव नभएकाले अमेरिकी सरकारले उनीहरुकाबारेमा थप अनुसन्धान समेत गरिरहेको छ ।
खासगरी एउटा नाममा देशनिकालाको आदेश पाइसकेपछि अर्कैै नाममा ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकता लिएकाहरुलाई यो अपरेशन अन्तरगत निशानामा पारिएको छ । जसको पहिलो शिकार भारतीय नागरिक बलजिन्दर सिंह भएका छन् । अब यो अपरेशन कहाँ पुगेर कसकसको नागरिकता खोसेर टुंगिने हो त्यो भने हेर्न बाँकी नै छ ।