अमेरिकामा ‘क्याच एण्ड रिलिज’ नीतिको अन्त्य, अब ‘क्याच एण्ड रिटर्न’, नेपाली प्रभावित
प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार
अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गरेर एसाइलम गर्नेलाई ‘क्याच एण्ड रिलिज’ अर्थात्अ मेरिकी सरकारले पक्राउ गरेर अदालती सुनुवाईसम्मका लागि छाड्दै गरेकोमा सरकारले अब उक्त नीतिको अन्त्य गरेको छ । अब उक्त नीतिलाई क्याच एण्ड रिटर्नको नीतिले बिस्थापित गर्ने अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
अब अमेरिकामा मेक्सिकोको सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिर्नेलाई पक्राउ गरेर मेक्सिको फिर्ता पठाइने भएको छ । र एसाइलम गर्नेहरुले अदालती सुनुवाई मेक्सिकोमा नै बसेर कुर्नुपर्नेछ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् ।
मेक्सिकोमा बसेर अदालती सुनुवाई कुरुन्जेल त्यहाँको सरकारले मानवीय भिसा र वर्क परमिट प्रदान गर्ने अमेरिकी सरकारको विश्वास रहेको छ ।
अमेरिकाको अध्यागमन कानुनको सेक्सन २३५ बी,२ सी अन्तरगत यस्तो निर्णय गरिएको र यो निर्णय तुरुन्तै कार्यान्वयन हुने भएको छ ।
अमेरिकामा गैरकानुनी अध्यागमन संकट नियन्त्रणका दिशामा यो ऐतिहासिक कदम भएको होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले जनाएकी छिन् ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसको प्रकृयाबारे पनि स्पष्ट पारेको छ । मेक्सिकोबाट गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर एसाइलम दावी गर्नेहरुलाई अमेरिकामा रिहा नगरिने, उनीहरुले मेक्सिकोमा बसेर अध्यागमन प्रकृया कुर्नुपर्ने र अमेरिकी न्यायाधिसले अनुमति प्रदान गरेपछिमात्र अमेरिका छिर्न पाउने अमेरिकी सरकारले स्पष्ट पारेको छ ।
यो निर्णयमा अमेरिकामा नक्कली एसाइलममा कमी आउने र अदालतको निर्णय अगाडि नै कागजपत्रविहिन अमेरिकामा बेपत्ता हुने क्रम रोकिने अमेरिकी सरकारको अपेक्षा रहेको छ । मेक्सिकोको बाटो हुँदै ठूलो संख्यामा नेपालीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्दै आएका छन् । अमेरिकी सरकारको यो निर्णयबाट अमेरिका गैरकानुनी रुपमा आउन चाहने र एसाइलम गर्ने नेपालीहरु प्रभावित हुनेछन् ।