ट्रम्पको ‘तेश्रो लिंगीलाई सेनामा प्रतिबन्ध’ सर्बोच्चबाट सदर
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
राष्ट्रपति डोनाल्ड ट्रम्पले तेश्रो लिंगीलाई सेनामा लगाएको प्रतिबन्ध सर्बोच्च अदालतले सदर गरेको छ । आज मंगलबारदेखि लागु हुनेगरी अब अमेरिकी सेनामा तेश्रो लिंगीहरुलाई प्रतिबन्ध लगाइएको छ ।
अधिकारकर्मीरुले सेनामा तेश्रोलिंगीहरुलाई प्रतिबन्ध लगाउने कदमलाई निदर्यी बताएका थिए । सर्बोच्च अदालतका ४ जना उदार न्यायाधिसहरु तेश्रो लिंगीलाई सेनामा सेवा गर्नमा प्रतिबन्ध लगाउने नियमको विपक्षमा रहेका थिए । यो नियमले खासगरी ‘तेश्रो लिंगीहरु जसका लागि लिंग परिवर्तन आवश्यक छ वा थियो’ उनीहरुलाई प्रतिबन्ध लगाउनेछ ।
राष्ट्रपति ट्रम्पले पहिलोपटक सन् २०१७ को जुलाईमा यस्तो नियम ल्याउन लागेको घोषणा गरेका थिए । तर औपचारिक रुपमा घोषणा भने सन् २०१८ मा रक्षामन्त्रीमार्फत गराएका थिए ।
अदालतको अनुमतिलाई ट्रम्प प्रशासनको विजयका रुपमा हेरिएको छ । यो नियमले अधिकांश तेश्रो लिंगीहरुलाई अमेरिकी सेनामा सेवागर्नमा रोक लगाउनेछ । हाल अमेरिकी सेनामा ८ हजार ९ सय ८० जना सकृय रुपमा कार्यरत छन् ।