‘नेपाल विगतमा भारतको भाग नरहेको’ भन्दा रिसाएर अर्कोतिर लागे ट्रम्प
प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार
दक्षिण एसियाबारेको खुफिया ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई विगतमा भारतकै भाग रहेको बताएकोबारे उक्त समाचार लेख्ने पत्रकारले थप खुलासा गरेका छन् । टाइम म्यागाजिनका राष्ट्रिय सुरक्षा सम्बाददाता जोन वालकोटले सोमबार सीएनएन टेलिभिजनसँगको कुराकानीका क्रममा थप खुलासा गरेका छन् ।
यस अगाडि पनि ट्रम्पले नेपाललाई निपल र भुटानलाई बटन भनेर गलत उच्चारण गरेका थिए ।
‘साच्ची नै ट्रम्पले त्यसो भनेका हुन् त ?’ सीएनएनका पत्रकार बु्रक बाल्डवीनले वालकोटलाई सोध्दा वालकोटले भने – ‘सिरियस्ली ।’ कुराकानीका क्रममा वालकोटले शनिबार टाइम म्यागाजिनमा प्रकाशित आफ्नो आलेखबारे छलफल गरेका थिए ।
जब ब्रिफिङमा नेपाल विगतमा भारतको भाग नरहेको र एक स्वतन्त्र राष्ट्र रहेको बताइएको थियो, ट्रम्पले रिसाएर अर्कोतिर लागेको पनि वालकोटले खुलासा गरेका छन् । ट्रम्पलाई सच्याउन खोज्दा उनी प्राय यसरी नै रिसाउने गरेको जनाइएको छ ।
विगतमा स्पीकर पल रायनले हेल्थ केयरबारे बताउन खोज्दा ट्रम्प अर्कै कोठामा गएर टेलिभिजन खोलेर बसेको प्रसंग ह्वाइटहाउसका पूर्व कर्मचारी क्लिफ सिमले लेखेको पुस्तकमा उल्लेख छ । त्यस्तै नामिबियालाई ट्रम्पले राष्ट्रसंघकै सम्बोधनमा नाम्बिया भनेका थिए ।