प्रचण्डसँगको भेटबारे अमेरिकी विदेश मन्त्रालयले यसो भन्यो (एक्सक्लुसिभ )
प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया प्रमुख एलिस वेल्सबीचको भेटघाटमा दुईदेशबीचको सम्बन्धका बारेमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता स्टेफानाइ न्युम्यानले खसोखासका प्रधानसम्पादक तथा एबीसी टेलिभिजनका अमेरिका ब्यूरो प्रमुख किशोर पन्थीलाई दिएको जानकारी अनुशार भेटघाटमा अमेरिकाको नेपाली जनता र नेपाल सरकारसँगको लामो समयदेखिको साझेदारीका विषयमा विशेष छलफल भएको थियो ।
नेपालको पूर्ण सम्भाब्यताको महसुस गर्दै अमेरिकाले नेपाललाई गर्ने सहयोगको प्रयासबारे पनि घेटघाटमा छलफल भएको प्रवक्ताले जानकारी दिएका छन् । भेटमा अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीको पनि सहभागिता रहेको प्रवक्ताको भनाई छ । अमेरिकी विदेशमन्त्रालयकी मध्य तथा दक्षिण एसिया प्रमुख एवं प्रिन्सिपल डेपुटी एसिस्टेन्ट सेक्रेटरी एलिस वेल्सले प्रचण्डलाई नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीको हैसियतमा भेटेकी थिइन् ।
पूर्व प्रधानमन्त्री प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा एकसाता अगाडि अमेरिका आएका हुन् । सिता दाहालको अमेरिकाका मेरिल्याण्ड र वासिंटन डिसीमा विभिन्न अस्पतालमा चेकजाँच भइसकेको छ । अस्पतालमा भर्ना गर्नु नपर्ने भएकाले अब सबैजना स्वदेश फर्कने कार्यक्रम रहेको छ ।