पौडी खेल्दा यति धेरै फाईदा
प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार
स्विमिङ अर्थात् पौडीलाई व्यायामको गतिलो माध्यमका रूपमा लिइन्छ । पौडी यस्तो ‘एरोबिक वर्कआउट’ हो, जुन शरीरका कुनै पनि अंगको ‘ड्यामेज’ विना नै सम्पन्न गर्न सकिन्छ । बुढाबुढीदेखि कम उमेरका मानिसले पनि सजिलै स्मिमिङ गरेर फाइदा लिन सक्छन् ।
विशेषगरी, खेलाडीले पौडीलाई इन्जुरीपछिको रिकभरीका लागि प्रयोग गर्न सक्छन् । ती खेलाडी स्विमिङकै माध्यमले फिट हुन सक्छन् र पुरानै लयमा फर्कन सक्छन् । उनीहरूको चाँडो रिकभरीका लागि कुनै उपकरण चाहिन्न, मात्र नीलो, गहिरो पोखरीमा डुबुल्की मार्दा पुग्छ । पौडीका लागि उपयुक्त समय (गर्मी मौसम) पनि सुरु भइसकेको परिपेक्षमा अब जानौं यसका फाइदाबारे ।
मांसपेशीमा शक्ति र तीव्रता
पौडिँदा धेरै शक्ति खर्चिनुपर्छ । यसले समग्र शरीरकै एक्सरसाइज हुन्छ । जसले मांसपेशीमा तागत अझ बढ्छ । धावकले आफ्नो खुट्टाको ‘बिल्डअप’ गर्ने हो भने स्विमिङ गर्न आवश्यक हुन्छ । पानी आफैँमा एउटा शक्ति हो । यसमा तैरिँदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।
हड्डी ठूलो र बलियो
पौडीका माध्यमले बोनमासमा असर गर्छ भन्दा केही समयअघिसम्म अनुसन्धानकर्ताहरू नाक खुम्च्याउँथे । उनीहरू खालि स्विमिङले शरीरको तौल घटाउँछ भन्ने कुरामा मात्र विश्वस्त थिए । तर, पछिल्लो अनुसन्धानले पत्ता लाग्यो कि स्विमिङले ‘बोन मिनरल डेन्सिटी’ र ‘फेमोरल बोन’ दुवैलाई नियन्त्रण गर्छ । यसो हुँदा शरीरका हड्डीमा वृद्धि हुन मद्दत पुग्छ र मजबुत पनि हुन्छन् ।
शरीर लचकदार
पौडी खेल्दा तपाईंको शरीर पानीका माध्यमबाट फैलिने, बटारिने, घुम्ने आदि हुन्छ । तपाईंका घुँडा पखेटासमान पौडिन्छन् । हातले बाँकटे हान्नुहुन्छ । किक हान्दा हरेक अंगमा दबाब उत्पन्न हुन्छ । यस्ता क्रियाकलाप केही समय चल्दा शरीर लचकदार बन्छ ।
मुटुलाई फाइदा
स्विमिङले हृदयलाई फाइदा गर्छ । धमनीलाई सशक्त बनाउँछ । अन्ततः यसले मुटुलाई फाइदा पु¥याउँछ । मुटुलगायत शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ ।
अनावश्यक क्यालोरी खर्च गराउँछ
स्विमिङबाट शरीरको क्यालोरी खर्च हुन्छ । यसको माध्यमले दौडिएभन्दा पनि बढी क्यालोरी खर्च हुन्छ । उदाहरणका लागि बे्रस्टस्ट्रोक १० मिनेट स्विमिङ गर्दा ६० क्यालोरी खर्च हुन्छ । ब्याकस्ट्रोकबाट ८०, फ्रिस्टाइलबाट १०० र बटरफ्लाईबाट १५० क्यालोरी खर्च हुन्छ । जबकि १० मिनेट रनिङ गर्दा १०० क्यालोरी मात्र खर्च हुन्छ । त्यसकारण ३० मिनेट बटरफ्लाई स्पिड स्विमिङले १५० भन्दा धेरै क्यालोरी खर्च गर्छ । यो ३० मिनेटमा पाँच किमि दौडिएसरह हो ।
दमका रोगीलाई उपयोगी
पौडी खेल्दा हामीले अन्य अवस्थामा भन्दा ओसिलो अक्सिजन प्राप्त गर्छौं । यस्तो हावा फोक्सोका लागि अतिउपयुक्त हुन्छ । तसर्थ, स्विमिङ गर्ने मानिसलाई हतपत दमको रोग लाग्दैन । स्वच्छ हावाका लागि दमका रोगीले पनि स्विमिङ गर्न जरुरी छ ।
थकान र मानसिक चिन्ता नियन्त्रण
धेरै मानिस सहमत छन् कि स्विमिङले मानिसको दिमागमा अर्कै किसिमको तरंग पैदा गर्छ । यसले ह्यापी हर्मोन उत्पादन गर्ने अनुसन्धनकर्ताको दाबी छ । यसले योगसरहको लाभ प्राप्त गर्न सकिन्छ । स्विमिङले शरीरमा एकरूपताको शक्ति प्रदान गर्छ । यसले थकान मेट्न मद्दत गर्छ । पौडी दौरान अर्कै संसारमा पुग्नुहुन्छ । त्यसैले, मानसिक चिन्ता स्वतः कम हुन्छ ।
नुनिलो पानी छालाका लागि उपयोगी
तपाईं नुनिलो पानी भएको ठाउँमा वा समुद्रमा स्विमिङ गर्नुहुन्छ भने यसले तपाईंको छालालाई फाइदा गर्छ । नुनिलो पानीले नयाँ कोष (सेल) पैदा गर्न मद्दत गर्ने र यसले सौन्दर्य वृद्धिमा पनि सघाउने अनुसन्धानकर्ताको दाबी छ ।
स्मार्ट बनाउँछ
अस्ट्रेलियामा भएको एक अनुसन्धानअनुसार स्विमिङ गर्ने बच्चा अन्यको तुलनामा तेजिलो भएको पाइएको छ । जो बच्चा नियमित स्विमिङ गर्छन्, उनीहरूमा भाषाको विकास, मोटर कुदाउने सीप र आत्मविश्वासको स्तर पनि बढी भएको पाइयो । साथै, उनीहरूको शारीरिक विकास पनि अन्यको भन्दा चाँडै भयो ।
आयु बढाउँछ
नियमित व्यायामले सु–स्वास्थ्य तथा दीर्घायु प्राप्त हुन्छ । अनुसन्धानअनुसार पौडी यसका लागि सबैभन्दा उत्तम हो । साउथ क्यारोलिना विश्वविद्यालयको एउटा अनुसन्धानले पुष्टि गरेअनुसार स्विमिङ गर्नेको आयु अरूको भन्दा लामो भएको पाइयो ।
एजेन्सीको सहयोगमा