श्रीलङ्कामा गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिए


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्।

राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको सिरिसेनाले बताए।

उनका अनुसार “इल्हाम” नाम गरेका अर्का बम आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।

कोलम्बोस्थित केही होटल तथा गिर्जाघरहरूमा अघिल्लो आइतवार गराइएका विस्फोटमा कम्तीमा २५० जना मारिएका थिए।

राष्ट्रपति सिरिसेनाले देशको गुप्तचर निकायका अनुसार तथाकथित इस्लामिक स्टेटसँग सम्बद्ध करिब १३० जना सन्दिग्ध रहेकोमा ७० जनाको अझै प्रहरीले खोजी गरिरहेको बताए।

साङ्ग्रीला होटलमा गराइएको विस्फोटमा हाशिमको ठ्याक्कै के भूमिका थियो भन्नेबारे राष्ट्रपतिले स्पष्ट पारेनन्।

आक्रमणमा स्थानीय इस्लामवादी उग्रवादी समूह न्याशनल तौहिद जमातको हात रहेको श्रीलङ्काका अधिकारीहरूको आरोप छ।

खासै नचिनिएका हाशिमले केही वर्षअघि बौद्ध धर्मसँग सम्बन्धित सालिकहरू कुरूप बनाएर बदनामी कमाएका थिए।

त्यसपछि उनले गैरमुस्लिमविरुद्ध हिंसाका लागि आह्वान गर्दै युट्युबमा भिडिओहरू अपलोड गरे।

आइतवारको आक्रमणको केही दिनपछि आइएसले सार्वजनिक गरेको एउटा भिडिओमा उनी देखिएका थिए, त्यसमा सातजना पुरुष थिए ।

उनीहरूले समूहप्रति आफूहरू आबद्ध रहेको बताएका थिए। भिडिओमा अनुहार हाशिमको मात्रै देखिएको थियो।

आइएससँग हाशिमको प्रत्यक्ष सम्पर्क थियो अथवा आबद्धता मात्रै थियो भन्नेबारे स्पष्ट छैन।

हाशिम श्रीलङ्काको कट्टानकुडी नगरका थिए। यसअघि उनकी बहिनीले आफ्ना दाइको संलग्नताको निन्दा गरेकी थिइन्।

आक्रमणमा नौजना सन्दिग्ध सामेल रहेको बताइन्छ। दुईजना आक्रमण मसला व्यापारी युसुफ इब्राहिमका छोरा थिए।

इब्राहिम श्रीलङ्काका धनीमध्येका एक हुन्। घटनापछि इब्राहिमलाई पक्राउ गरी सोधपुछ गरिएको थियो।

राष्ट्रपति सिरिसेनाका अनुसार इब्राहिमका एउटा छोराले हाशिमसँगै साङ्ग्रीला होटलमा विस्फोट गराएका थिए।

अर्का छोरा सिनमन होटलमा गराइएको विस्फोटमा संलग्न रहेको बताइन्छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com