विदेशमा भएका नेपालीलाई ‘स्वेदश फर्क’ भन्नु सरकारको सस्तो र अनैतिक नारा : रामप्रसाद खनाल
प्रकाशित मिति : असार १२, २०७६ बिहीबार
अमेरिका निवासी कलाकार, पत्रकार,साहित्यकार र राष्ट्रिय तथा अन्तराष्ट्रिहरुमा अभिनन्दित, सम्ममानित र पुरस्कृत व्यक्तित्व, तीन दशकदेखि लोकदोहोरी क्षेत्रमा क्रियाशील बहुप्रतिभाका धनी राम प्रसाद खनाल अहिले नेपालमा हुनुहुन्छ । काठमाडौंमा भेटिनुभएका खनालसँग खसोखासले गरेको कुराकानी ।
भर्खरै,बजारमा ल्याउनु भएको‘दुलाहा—दुलाही’,गीतबाट दर्शक श्रोताको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
दर्शक श्रोताले ‘दुलाहादुलही’ निकै मन पराउनु भएको छ । जसले मलाई उत्साहित बनाएको छ । बिबाह हुँदै गरेका जोडीको बारेमा प्रशंसा गरेको यो गित हरेकको जीवनसँग मेल खाने खालको छ । यो हरेक नेपालीको मन मुटुसँग जोडिएको गित भन्दा फरक पर्दैन । बजारमा ल्याएको तीन दिनमै सोचेभन्दा बढी भ्युज भएको थियो ।
सांगितिक यात्राका तीन दशक पुरा गरिसक्नुभएको छ । सृजनाहरु त, निकै पो होलान नि है ?
अहिलेसम्म १२ सयभन्दा बढी लोक गित गाईसकेको छु । ४७ वटा एल्वम बजारमा आईसकेका छन् । गीत म आफैले लेख्छु । एउटा मात्र गीत, मेरो गुरुले लेख्नु भएकाले गाएको छु । बाँकी मैले नै लेखेको हुँ ।
लोक दोहोरी गायक भएकाले होला, गित, गजल र कविताहरु लेख्न सजिलै लाग्छ । १७ वटा साहित्य सम्बन्धि पुस्तक लेखिसकेको छु ।
दुई कक्षा पढ्दादेखि गीत गाउने, गीत,कविता लेख्न शुरु गरेको हुँ । रेडियो नेपालमा स्वर परिक्षा पास गर्नुभन्दा पहिला गुल्मीका गाउँ बस्तीहरु र स्कुलका कार्यक्रमहरुमा गाउने गर्दथेँ । ०४२ सालमा जब स्वर परिक्षा पास गरे, त्यसपछि पेसागत रुपमा यो क्षेत्रमा निरन्तर लागिरहेको छु ।
साँच्चै, त्योबेला स्वरपरिक्षा पास गर्नु कत्तिको सजिलो थियो ?
गुल्मीको गाउँमा जन्मेको मान्छे, त्योबेला काठमाडौँ आउनु नै ठूलो कुरा थियो भने स्वरपरिक्षा पास गर्नु चानचुन कुरा थिएन । अहिलेभन्दा र सुन्नेलाई सामान्य लाग्छ होला, तर मैले ठूलै संघर्ष गर्नु परेको थियो । त्योमात्र होइन, रेडियो नेपालमा प्रबेस गर्नु र रेडियो नेपालमा गित गाउनु पाउनुनै निकै ठूलो कुरा थियो ।
अहिले त जतातत्तै रेडियो र टेलिभिजनहरु भए, त्यो बेलाको कुरा बेग्लै छ । समयवित्तै जाँदा त्यही रेडियो नेपालमा कार्यक्रम निर्देशक र निर्माता भएर काम पनि गरेँ । नेपाल टेलिभिनमा कार्यक्रम सञ्चालन, निर्माता निर्देशक र केही समयपछि ब्यावस्थापन समितिमा रहेर पनि काम गरेँ । गाउँका मान्छे सिंहदरवार गेटबाट भित्र पस्नुलाई ठूलो संघर्ष गर्नुपर्ने हुन्थ्यो । ती दिन संम्झदा आफैलाई कहाली लाग्छ ।
त्यो परिवेशमा लोकदोहोरी क्षेत्रमा लाग्नुभयो, परिवारको साथ पाउनु भयो वा भएन ?
ब्राण्हमण परिवारमा जन्मेको । मेरो दाजुलाई गित गाएको पट्कै मन नपर्ने । सुरु—सुरुमा आमा र दाजुले बाहुनको छोरा गीत गाउन थाल्यो,अब विग्रने भयो भनेर चिन्ता गर्नुहुन्थ्यो । उहाँहरुले गितसंगित भनेको कुनै जाति समुदायले मात्र गाउने कुरा होइन । यो त विशिष्ट क्षमता भएकाले मात्र गाउने हो भन्ने बुझेपछि,उहाँहरु त, सबैभन्दा ठूलो प्रसंशक !
पञ्चायती व्यवस्था विरुद्ध, जनता जुर्मुराउने गित पनि गाँउदै हिड्नु भयो नि है ?
हो,पञ्चायतका विरुद्ध जनतामा जागरण पैदा गराउने धेरै गित लेखें र गाँए ! २०४६ सालको जनआन्दोलनमा म जुन मञ्चमा उभिएर गित गाउँथे,,जनतामा छुट्टै खालको सञ्चार पैदा हुन्थ्यो । तर, अहिले मलाई पश्चताप छ । किनकी कलाकारहरु क्षणिक गित र राजनीति गित गाउनु हुँदोरहेनछ । यो मेरो तितो अनुभव हो । पञ्चायत विरुद्ध गित लेखियो, गाइयो । अहिले पञ्चायत छैन, मेरा सबै सृजना मरेर गए ।
समाज परिवर्तनका लागि पुर्याएको योगदानको, गर्व गर्नुपर्ने ठाउँमा पछुतो किन ? सृजना मरेर गए भन्ने मात्र त होइन होला नि ?
सकारात्मक रुपमा हेर्दा तपाईले भनेको कुरा ठिक हो तर, रिजल्ट हेर्नु त, केही फरक छैन । व्यवस्था परिवर्तन भएर के गर्नु ? जनताको अवस्था उस्तै छ । मलाई त “जुन जोगी आएपनि कानै चिरेको” जस्तै लाग्छ ।
यसको अर्थ तपाईलाई त्योबेला राजनीतिक रुपमा प्रयोग गरियो भन्न खोज्नुभएको हो ?
त्यसो भन्न खोजेको होइन । कसैले प्रयोग गर्नुभन्दा पनि सचेत नागरिकको हिसाबले लागेको हुँ । त्यो बेलाका धेरै सृजना मरेर गए,त्यसमा पछुतो लागेको हो । त्यसपछि निर्माण भएका कुनै संरचनामा ती गितको सम्बोधन वा संरक्षण हुन सकेन । त्यसकारण अहिले म जति गित गाउँछु, ती गितहरु हजुरबा आमादेखि नातीनातीनासंगै बसेर हेर्न र सुन्न मिल्ने खालका गाउँछु भनेर लागेको छु । भोलि म मरेर गएपनि मेरा दर्शक श्रोताले यो गित राम प्रसादको हो भन्ने गरी सृजना गर्न सकेभने राम्रो हुन्छ भन्नेमा पुगेको छु । अब क्षणिक गीतहरु गाउँदैन ।
तपाईका सबै गीतहरु उत्तिकै उत्कृष्ट छन् तर, सबैभन्दा बढी दर्शक, श्रोताको मनमा बस्न सफल कुन गीत हो ?
‘छाता ओझेल पारिदेउ बर्खे झरीमा’ भन्ने गीत मैले २०५५ सालमा गाएको थिएँ । त्यसले लोकदोहोरी गितको क्षेत्रमा सबैभन्दा बढी अडियो क्यासेट विक्रि भएको भनेर रेर्कड बनाउन सफल भएको थियो । जता गएपिन त्यही गति सुन्ने खालको माहोल पैदा गरेको थियो ।
अर्को,बिदेशमा बस्ने दाजुभाईहरुले घरमा आमाबुबा, छोराछोरी श्रीमति कसरी सम्झिरहेका हुन्छन् भन्ने भावना समेटेर लेखेको थिए ‘देउरालीमा पिपल छायाले दिन बिताउन गाह्रो भयो, पागल भए तिम्रो मायाले’ यो गित पनि निकै मन पराई दिनुभएको थियो ।
त्यसैगरी ‘आमा भनि बोलाउन पाईन’ भन्ने गीत गाउँदा क्यानडामा पुरै हल भावविहोल भएको थियो । दर्शकसँगै म पनि रोएको थिए । यस्ता धेरै गीतहरु छन्, जनु दर्शक श्रोताको मन मुटुमा बस्न सफल भए ।
नयाँ पिँढीले यो क्षेत्रमा आउँदा के कुरामा बढी ध्यान दिनुपर्ला ?
भाइरल हुने लोभ छोडेर, विकृति रोक्ने बाटोमा गएनौ भने, नेपाली गितहरु छोराछोरीसँग बसेर सुन्न र हेर्न सक्ने छैनौ । दिनप्रतिदिन धरासायी हुँदै गएको छ ।
मैले देश छोडेर अमेरिका बस्न थालेको १२ वर्षभयो । बीचबीचमा आएर मौलिक गितहरु गाउने गरेको छु । राम्रो गाउने धेरै कलाकार सर्जकहरु हुनुहुन्छ तर विकृतपूर्ण गितहरु भाइरल भैरहेको पाउँछु ।
नयाँ पिँढीले एक्कै छिनको खहरे खोला जस्तो बन्ने कि सागर छुट्याउनु पर्दछ । अर्को कुरा, देशको संस्कृति बचाई राख्ने जिम्मा कलाकारको पनि हो, त्यो भुल्नु हुँदैन । कला संस्कृति भनेकोे त्यो देशको मुख्य पहिचाहान हो । कुनै पनि कलाकारहरुले आफ्नो परिवेस,संस्कारलाई भुल्नु हुँदैन ।
कलाकारको पनि बाध्यता होला नि, दर्शक श्रोताले खहरे खोला नै मन पराएको पाइन्छ ?
हो,दर्शक श्रोताले पनि गितहरु फिल्टर गरेर हेर्नेबेला आएको छ । भाइरल हुने नाममा नंग्नता, अनुशासन हिनता,छाडापन र विकृतिपूर्ण संस्कृतिलाई भित्राउने र भाइरल बन्ने रोगबाट हाम्रो मौलिक संस्कृति बचाउनु पर्दछ । यस्तो रोगले समाज ग्रसित बन्दै आएको छ । मेला महोत्सवमा जनताको भावनलाई समेटेर गित गाउने अनुशाशित कलाकारहरु आमन्त्रित हुन छाडिसकेछन्, आजभोलि त सतही रुपमा हाहाहा… हुहुहुह… गर्ने संस्कृतिको विकास भएको छ । यो त दुःखद कुरा । कला र संस्कृति भनेको त्यो देशको अमूल्य सम्पत्ति हो, जसले देशलाई देश जस्तो बनाएको हुन्छ । हामी नेपाली रहने हो भने, नेपाली संस्कृति, आफ्नो पनलाई बचाई राख्नुपर्छ ।
नेपालको इतिहासमा पहिलो पटक टेलिभिजनबाट लाईभ दोहोरी कार्यक्रमको सुरुवात गरेको हुँ । त्यसपछि देशभर लोकदोहोरीको माहोल पैदा भयो । गाउँगाउँमा लुकेका प्रतिभाव बाहिर आउन थाले, दोहोरी रेष्टुरेट ब्यावसायिक रुपमा सुरु भए । सबै कुरालाई अनुशासित र व्यवस्थित बनाउनु पर्यो नि ।
बुटबलमा पहिलो पटक दोहोरीलाई मेलामा घुसाएर परिक्षण गरेका थियौँ । मेला महोत्सवमा दोहोरी गाउने माहोल बुटबलबाट सुरु भएको हो । कुनामा एक्लै बसेर हेर्ने र सुन्ने गितले एक्कैछिन, सन्तुष्टि मिल्ला तर, समाज र संस्कृति बर्वाद हुन्छ ।
राजनीति चटक्कै छोड्नु भएको हो ?
राजनीतिबाट सन्यास लिएको करिब १४ वर्ष भएछ । म राजनीतिमा फर्कन पनि चाहान्न । अहिलेका राजनीतिक पार्टी सबै उस्तै हुन् । राम्रो कामको समर्थन र नराम्रो कामको विरोध एउटा सचेत नागरिकको हिसाबले गर्ने हो ।
शासन सत्तामा जति पनि आए सबैले, देशलाई प्रयोग शाला बनाएका छन् । कुनैपनि राजनीति पार्टीले जनताको मर्म र पीडा बुझेर काम गरेको पाईदैन ।
राजादेखि अहिले दुईतिहाईको सरकारसम्म आउँदा कुनै पनि पार्टीले जनभावना अनुसार देशलाई अगाडि बढाएको मैले देखेको छैन । म अमेरिका बस्छु,तर देशमा के भैरहेको छ, चासो हुन्छ । पत्रकारको हिसाबले हेर्दा कहीँ सन्तोषको लिने ठाउँ पाईदैन । जताततै भ्रष्टाचार, महिला हिंसाका घटना बढेको बढै छन् । यस्ता कुराले निकै पीडा दिन्छ ।
सरकारले देश फर्क भन्दै छ, यसमा तपाई के भन्नुहुन्छ ?
यो त एकदमै सस्तो र असाध्यै अनैतिक नारा हो । आफैले श्रम स्वीकृत दिएर कुबेत र इराक पठाउने, अनि देश फर्क भन्ने ? नयाँ नयाँ देशसँग श्रमस्विकृत भयो भन्दै निकै ठूलो काम गरे जस्तो गरी मन्त्रिहरुले गर्व गर्ने र भाषण ठोक्ने !
एकातिर मान्छे बेच्न श्रम सम्झौता गर्ने, अर्कोतिर विदेशमा भएका नेपालीहरु देशमा आउनुपर्छ भन्दै मिडियामा ठूलो स्वरले चिच्याउने ? अर्को विदेशमा रहेका एनआरएन नेपालीहरुलाई लालवाबु पण्डितले जस्तै मुख छाडेर नाना थरी गाली गर्ने । विदेशबस्ने नेपालीनै होइनन् भन्दै विभिन्न लाञ्छना लगाउने, यस्तो गर्नु अनैतिक कुरा हो ।
देश अहिले पनि रेमिट्यान्स र वैदेशिक सहायताले चलेको छ । राज्यले कहाँनेर गर्व गर्ने ठाउँ छ ? विदेशमा रहेका नेपालीलाई गाली गर्ने ठाउँ कहाँ छ ?
राजनीतिमा नैतिकता भन्ने हुन्छ, यदि नैतिकता छ भने खाडीमुलुक जाने श्रम स्विकृत दिने काम बन्द गरेर देशमा रोजगारी सृजना गर्न सक्नुपर्छ ।
दैनिक अन्तराष्ट्रिय एयरपोर्टबाट तीन/चार हजार युवाहरुले देश छोड्न बाध्य हुनु सामान्य कुरा होइन । लुकेर विदेशीने युवाको संख्या पनि त्यत्तिकै हाराहारीमा रहेको छ ।
देखिने र नदेखिने गरी बिदेश जाने युवा जनशक्तिको लावालस्कर छ । दैनिक जसो बन्द बाकसमा नेपाली दाजुभाईको लास बुझ्ने गरेको राज्य ।
गाउँ सबै खाली छन् । बुढाबुढी भएका बा आमा विरामी पर्दा अस्पत्ताल लैजाने मानिस गाउँमा छैनन् ।
एउटा सचेत नागरिकको रुपबाट हेर्ने हो भने हामी नराम्रोसँग फस्दै गईरहेका छौँ । जातियता, क्षेत्रियता, जस्ता कुरामा फस्दै मुडभेडको अवस्थासम्म आईपुग्दैछौँ ।
आन्तरिक द्धन्द्ध भएका १६ वटा राष्ट्र असफल राष्ट्रको लिष्टमा दर्ज भएका छन् । म, हाईटी, कंगो र बुरुन्डी जस्ता असफल राष्ट्रमा राष्ट्रसंघको निमन्त्रणमा भ्रमण गरेको छु । त्यहाँको पिक्चर जे थियो, नेपालमा अहिले त्योभन्दा बढी भैरहको छ ।
त्यहाँ जे—जे कारणले ती राष्ट्रहरु असफल भए, हामीले अध्यायन गर्नु जरुरी छ । अहिले त्यहाँ युएनले शासन गरेको छ । हाम्रोदेशबाट पनि सेना प्रहरी गएर त्यहाँको शान्ति सुरक्षा कायम गरेका छन् । ती देशको हातमा केही छैन । हामी त्यही बाटोमा उन्मुख छौँ । जसले सारै चिन्ता र डर लगेको छ ।
गैरकानुनी रुपमा अमेरिका जानको लागि नेपाली युवाहरु लाखौँ खर्च गरेका समाचार बाहिर आइरहेका छन्, ती युवाहरुलाई के भन्नुहुन्छ ?
पहिलो कुरा अबैधानिक बाटो जाँदै नजानुस् । अबैधानिक बाटो भएर जाने कैयौँ नेपालीहरु अहिले पनि बिदेशका जेलहरुमा बन्दीजिवन बिताईरहेका छन् । कैयौँ मान्छेहरु हराईरहेका छन् । कैयौ चेलीहरुको इज्जत लुटिएको छ ।
कानुनी रुपमा जुन देशको सरकारले मान्छे बेच्छ, त्यसमा मैले नजानु भन्न सक्दैन । विदेश सजिलो छैन, कानुनी प्रक्रिया पुर्याएर जानुस् । अमेरिकामा सबैका सुरुका दिन निकै विरक्त लाग्दा हुन्छन् । सबैकाम शुन्यबाट सुरु गर्नुपर्ने हुन्छ । यहाँबाट हेर्दा, अमेरिका, क्यानडा र अष्ट्रेलियामा डलर बुटामानै टिप्न पाईन्छ जस्तो गर्दछौँ । त्यो होइन । यहाँ निकै दुःख र अनुसाशित भएर मात्र बल्ल अगाडि बढ्ने बाटो खुल्छ । विदेश जाँदा दलालहरुलाई पैसा खुवाएर हुन्छ भन्ने भ्रममा नपर्नुस्, विधिसंगत ढंगले जानुस् नै भन्छु । आफ्नो क्षमतालाई विश्वास गर्नुपर्दछ ।