युएससीआईएसले १३ अन्तर्राष्ट्रिय अफिस बन्द गर्ने, ७ सुचारु, नेपालीको काम दिल्लीबाट
प्रकाशित मिति : श्रावण २५, २०७६ शनिबार
ग्रिनकार्ड, नागरिकता लगायत अध्यागमनबारेका कामहरु गर्ने अमेरिकी सरकारको युएससीआईएसले ७ वटा अन्तर्राष्ट्रिय कार्यालयबाटमात्र ग्रिनकार्ड लगायतका अध्यागमन सम्बन्धि विभिन्न कामहरु गर्ने भएको छ । ती बाहेक अन्य १३ वटा अन्तर्राष्ट्रिय अफिस भने युएससीआईएसले बन्द गर्ने भएको छ ।
नेपालका लागि युएससीआईएसले भारतको न्यु दिल्लीमा रहेको कार्यालयबाट काम गर्दै आएको छ । उक्त कार्यालय भने बन्द नहुने युएससीआईएसले जनाएको छ । न्यु दिल्लीमा रहेको युएससीआईएसको कार्याक्षेत्रभित्र नेपालका अलावा बंगालादेश, भुटान, मालदिभ्स, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन् । त्यस्तै तीनको बेइजिङ र गोन्जाओ, केन्याको नैरोबीमा रहेका युएससीआईएसका कार्यालयहरु पनि संचालनमा नै रहनेभएका छन् ।
यस अगाडि युएससीआईएसका कार्यकारी निर्देशकले ग्वाटेमाला सिटी, मेक्सिको सिटी र सान साल्भाडोमा रहेका युएससीआईएसका कार्यालयहरु पनि संचालन गरिराख्ने निर्देशन दिएका थिए । अन्य अन्तर्राष्ट्रिय कार्यालय र तीनवटा डिस्ट्रिक्ट अफिसहरु भने सन् २०२० को अगस्तसम्म बन्द गरिने युएससीआईएसले जनाएको छ ।
सुरुमा बन्द गरिने युएससीआईएसका अफिसहरुमा मेक्सिकोको मोन्टेरे र दक्षिण कोरियाको सिओलमा रहेका आफिस रहेका छन् । ती अफिसहरु आगामी सेप्टेम्बरको अन्त्यसम्म बन्द गरिने भएका छन् ।
अहिले अन्तर्राष्ट्रिय रुपमा गरिएका कामहरु कार्यालय बन्द गरिएपछि उक्त काम युएससीआईएसका अमेरिका भित्र रहेका कार्यालयहरु, युएससीआईएसका अमेरिकाभित्र रहेका कर्मचारीहरु र अस्थायी रुपमा अन्तर्राष्ट्रिय रुपमा नियुक्त कर्मचारीहरुले गर्नेछन् ।