आमा


प्रकाशित मिति : फाल्गुन ११, २०७३ बुधबार

-गीता खत्री

म नजिकै गएर आमासंग सोध्न पुग्छु – ‘के भयो आमा? बाटो भुलेको त होइन?’

रोइरहेकी आमाले मतिर हेर्दै भन्नु भयो – ‘नानी तिमी पनि नेपाली हो?’

मैले भने – ‘हो आमा । यस्तो जोडोमा यो पार्कमा बसेर तपाई त रोइरहनु भएको छ । के आपत्ती पर्यो र आमा?’

आमाले भनिन – ‘के गर्ने नानी यो आँखामा पनि कहिले नसुक्ने आँसुको मुहान रहेछ क्यारे । त्यसै त्यसै झरिदिन्छ । आमाले अझ बेलिबिस्तार लगाउदै भन्नु भयो – मेरा तीनजना छोराहरु छन् । उनिहरु सानो छँदैमा लोग्नेले साथ छोड्नु भयो ।

धन सम्पत्तिको कुनै कमी थिएन । एउटैबर्ष सासुससुरासहित लोग्ने पनि गुमाउँदा ज्यादै गाह्रो भयो । तरपनि यी तिनै छोराहरुलाई बाबाआमा दुबैको माया दिएर राम्रोसंग हुर्काएँ, बढाएँ र शिक्षित बनाएँं । आज तीनैजना ठाउँठाउँमा पुगे र राम्रो व्यवस्थित भएका छन् । तर के गर्ने नानी जसोगरे पनि आफ्नो दुःख आफैसंग भने झैं मेरो जीवनमा कहिले पनि खुसिका बाछिटाले छोएनन् ।

अव त यो बुढेसकालमा अझै बन्दीमा परेको छु । हुन त अमेरिका भनेको संसारलाई हाक्ने देश रे । कत्रो हो कत्रो । तर मलाई भने यो खुल्ला आकासमा बस्दा पनि बन्दीमा परेकी जस्तो लाग्छ । मर्ने बेलामा झनझन दुःखका पल्ला भारी हुदैछन् ।

नानी तीनजना छोरा मिलेर लौ आमा अघि खाएपनि हामी नै हौँ, पछि खाएपनि हामी नै हौँ भनेर नेपालमा भएको सबै सम्पत्ति बेचेर आएको पैसा सबैले मिलेर बाँंडफाँड गरे । दुइजना छोरा बेलायतमा छन् । यो कान्छो अमेरिकामा । जग्गाजमिन बेचेको सबै रकम उनिहरुको हातमा नपरुन्जेल– आमा अब तपाईका दुःखका दिनहरु सकिए । तपाई कहिले अमेरिकामा बस्ने कहिले बेलायतमा बस्ने भनी मीठामीठा सपना देखाएका थिए । म पनि त्यै सपनामा खुसी भएकी थिएंँ, रमाएकी थिएँ । तर नानी – समयले यसरी कोल्टे फेर्छ भनेर मैले त सपनामा पनि सोचेकी थिइन । बेलायतमा पांँच बर्ष बसेँ । त्यहाँ पनि मलाई गाह्रो भयो ।

कहिले जेठो छोरोकोमा बस्थें, कहिले माइलो छोराकोमा बस्थें । सकेको र जानेको काम गरिदिन्थे । चुपचाप हात बाधेर कहिले बसीन । तर त्यहांँ पनि दुबैको हेलांँको पात्र भएर बस्नु पर्यो। कति दिन त भोकै पनि सुतेँ । ती दुबैका छोराछोरीहरु स्कुल जान थालेपछि म दुबै छोरालाई बढी हुन थालेँ । पांच बर्ष पांच युग जती लामा थिए । यता बस्ने कान्छो छोराको नाती जन्मेको र नातीलाई हेर्नु पर्ने भयो भनी उताबाट यता पठाइ दिए । उताको कठीनाईलाई सम्झदै यता आउन राजी हुनै पर्यो । भएँं पनि । यतापनि पांँच बर्ष भयो । अव नाति पनि स्कूल जान थाल्यो । त्यसैले यतापनि म बढी हुन थालेकी छु । बुहारीले गालि गर्दासम्म त मलाई ठीकै लाग्थ्यो । तर छोराले पनि गाली गर्दा साह्रै ननिको लाग्छ ।

नेपाल फर्केर जान पनि सकिन । गएर पनि कहाँ बस्ने । यो उमेर को संग बस्ने, कसको सहयोगमा बस्ने? कालले पनि मलाई किन नदेखेको होला? कति पटक त यही इष्ट रिभरमा हाम फालेर यो चोला फेर्न पाएपनि हुन्थ्यो भन्ने बिचार नआएको पनि होइन । तर मर्न पनि त्यसै कहाँ सकिदो रहेछ र? हिजो मुखै फोरेर छोराले भन्यो – म तपाईलाई एकछिन पनि राख्न सक्दिन । मेरो घर बिग्रन लागि सक्यो । लण्डनमा बस्ने दाजुहरुसगं त्यही पठाइदिने कुरा गर्यो । थाहा छ नानी उताबाट के जवाफ आयो ?

“ल ल हामी कहाँ पठाउने त कुरै नगर । जे गर्नु छ त्यतै मिलाउनु । हामी आमाको जिम्मा लिन सक्दैनौ ।” त्यसपछि यो कान्छो छोराले भन्यो – ल आमा के गर्ने, उता दाइहरुले पनि जिम्मा नलिने भए । अब तपाइ नेपाल नै जानु पर्ने भयो । म पनि यहाँ राख्न सक्तिन । यसो मामा घरमा गएर बस्नु भएपनि हुन्छ नी । यसरी मलाई पन्छाउने बाटो निकाल्यो । बुढेस कालमा कसको आश्रयमा माइतिमा गएर बस्ने? कुन आइमाई मर्ने बेलामा माइतिमा गएर बस्न सक्छन् ।

फेरि त्यहाँ पनि मेरा आमाबाबा छैनन् । सम्पत्ति खाने छोराको लागि त बढी भएँ भने दाजु भाउजुले हेर्ने त कता हो कता । आफ्ना नातिनातिनीहरु हेर्न खेलाउन नोकरकै थान्कोमा बसेर मलाई कुनै चित्त दुखाइ भएन । केटाकेटीलाई खेलाए, आफु पनि उनिहरुसंगै रमाएँ । ज्यानले सकेको घरको सबै काम गरेँ पनि । आज म एउटी आमा मात्र बढी भएंँ । मैले त सोच्न पनि सकेको थिइन नानी, आज आएर यो दिन देख्न पर्ला भनेर । हुन त मैले नेपालमा छंँदा कताकता सुनेको थिएँं ।

नेपालमा भएको सबै सम्पत्ति हात पारेपछि बुढी आमालाई पशुपतिमा अलपत्र छोडेको अनि आफू अमेरिकातिर फर्केको तर पत्याएकी थिइन । नानी आज म आफै त्यही बिन्दुमा उभिन पुगेको छु । दैबको यो बिचित्र खेलमा म आफै डुबुल्की मार्दै छु ।”

“आमा – दैबको खेल हैन यो, समय बदलिएको छ, त्यसैले तपाई हामी सबैले बिचार पुराएर काम गर्नु पर्ने बेला आएको हो । पूर्ण विश्वास आफ्नै सन्तानमाथि गर्न पनि नसकिने बेला आएको छ । मर्ने दिनको टुङ्गो नलागेसम्म सम्पूर्ण सम्पत्ती छोराछोरीलाई सुम्पिएर घरको न घाटको हुनबाट कसरी बच्न सकिन्छ भनेर सोच्ने बेला आएको छ आमा ।”

मेरो कुरा सुनेर आमा केही नबोली मौन बस्नु भयो । फेरि म आमालाई प्रश्न तेस्र्याउछु –”आमा तपाई कहाँ जानु हुन्छ त अब?”

आमाले भन्नु भयो – “खोइ नानी, अब घर नफर्किनु भनेर छोरा आफैले भनेको छ । यो बिरानो देशमा म कता जाउँ, के गरौं नानी? म घर न घाटको भएको छु अहिले । आफ्नै सन्तानहरुले मलाई सडकमा पुराए भने म कसको शरण लिन जाउंँ । नानी, आज जीवनमा पहिलो पल्ट हार खाएको छु । त्यसैले मलाई आज बाच्नै मन छैन, जीवनदेखि घृणा लागेर आइरहेकोछ । इष्ट रिभरमा गएर हामफाल्ने र मर्ने बाहेक यो मनले केही गुन्न सकेको छैन । कति दुःख पर्दा पनि यस्तो मर्ने कुरा मनमा कहिले आएको थिएन । तर आज किनकिन … खै ।

आमाका ती कुराहरु सुन्दासुन्दै म आफ्नो बालापनको सम्झनामा रुमलिन पुग्छु । मन्दिर अगाडि मलाई मेरी आमा र बाबाले एकसरो लुगाले बेरेर छोडिदिएका थिए रे । मन्दिरका पुजारीले देखेर मलाई बालमन्दिरमा लगेर जिम्मा लगाइ दिएका थिए रे । त्यतिबेला मेरो घाँटीमा एउटा सानो लकेट झुण्डिएको थियो, जुन आजसम्म पनि मैले सुरक्षितसाथ राखेकी छु । हेर्दाहेर्दै मैले यी आमाको अनुहारमा मेरी आफ्नी आमा पाएँ ।

मैले भने – “आमा मेरो आमाको त मैले आजसम्म अनुहार देखेकी छैन । आमाको माया कस्तो हुन्छ थाहा पनि छैन । तर मैले आज आफ्नै आमा पाएंँ जस्तो लागि रहेछ । हिड्नु होस मसंगै, म लैजान्छु मेरो घरमा तपाईलाई । अब तपाईले मर्नु पर्दैन । घरमा हामी दुईजना लोग्नोस्वास्नी मात्र छौ । मेरो श्रीमान पनि बालआश्रममै हुर्किनु भएको हो । उहांको पनि यो संसारमा म बाहेक कोही छैन । त्यसैले आमा – तपाइले आजदेखि आफूलाई कहिले पनि एक्ली नठान्नू होला ।”

यति भन्दै म आमालाई गम्लङ्ग अङ्गालो हाल्न पुग्छु ।

आमाले आँसु पुछ्दै आफुले आश्रय पाएकोमा लामो सास फेर्नु भयो ।

मैले भने – “ल आमा जाउ अब । यहाँ चिसो पनि छ । घरमै जाउँं ।”

श्रीमान पनि कामबाट घरमा आइ सक्नु भएको रहेछ । मैले उहाँलाई आमाको सबै कुरा बेलिबिस्तार लगाएंँ । उहाँ पनि मेरो निर्णयबाट खुसी हुनु भयो ।

दिनहरु बित्दै गए । म र मेरो श्रीमान आमा पाएकोमा ज्यादै खुसी थियौं । घरमा अर्को खुसी पनि थपिएको थियो । म स्वयम आमा बन्दै थिएंँ । कामबाट घरमा आउंँदा आमाका हातले बनेका परिकार तथा ताजा खानेकुरा खान पाउनु आमाको छत्रछायांँमा ओत लागेर बस्न पाउनु भाग्यमानीले मात्र पाउने कुरा हुन ।

मेरो बच्चा जन्मिने मिति पनि नजिकै आइरहेको थियो । शुक्रबारको दिन म र मेरो श्रीमान कामबाट घरमा आउंदा आमाले दही चिउरा खुवाउने चाँजोपांँजो मिलाएर हामी दुबैलाई आश्चर्यमा पारिदिनु भयो । सबै पाहुना हाम्रो घरमा आइसक्नु भएको थियो । आमाले केक काटने, टिकाटाला गर्ने सबै बन्दोबस्त मिलाउनु भएको रहेछ । म हर्षले बिभोर भएँ । मेलै आमासहित सबैको आशीर्वाद पाएं । यो भन्दा बढी के चाहियो ।

यतिबेला कताकता मनभित्र मलाई जन्माउने आमालाई सम्झना गर्न पुग्छु । अनि कोठाभित्र आफूले जतनले राखेको त्यो पुरानो लकेट झिक्दै ओल्टाइपल्टाइ हेर्छु । कुन बिवसताले होला मेरो परिवार तथा मेरी आमाले मलाई त्यागेको । अनि म संग अहिले भएकी आमालाई सम्झन पुगें । जसले मलाइ जन्म नदिएपनि ममाथि मायाको बर्षा बर्षाइरहेकी छिन् ।

म सम्झनामा बहकी रहेको बेला आमाले अत्तालिदै गरेको स्वरले झस्किन्छु – “नानी – के भयो? आजको दिनमा पनि तिम्रो आंँखामा आँसु? सन्चो भए न की क्या हो? व्यथा त लागेन ?”

“हैन आमा – यस्तो केही होइन । आज कताकता मलाई जन्मन दिने आमालाई सम्झन पुगें । बच्चामा मेरो गलामा एउटा लकेट थियो रे । त्यसलाई मेलै जतनले राखेकी थिएँं । आमाको चिनो हेर्न मन लागेकोले झिकेर हेरेकी मात्र ।”

“खै हेरौ त नानी” – आमाले भन्नु भयो । म आमालाई त्यो लकेट दिन्छु । एकाएक मलाई अङ्गालो मार्दै आमा रुन थाल्नु भयो ।

“आमा के भयो?” आमा मेरो घरमा आएदेखि कहिले पनि यसरी रुनु भएको थिएन । आमा कतै मैले …।

“हैन छोरी तिमीले त मेरो जीवनमा यति खुसी ल्याइ दिएकी छ्यौं की म जन्मजन्मान्तर पनि तिम्रो ऋण तिर्न सक्दिन । तिमी त मेरी छोरी । मेरी आफ्नै छोरी ।”

म अकमक्क पर्छु । “के भन्दै हुनुहुन्छ आमा?”

आमाले भन्नु भयो – “हो छोरी म सत्य बोल्दैछु । तिमी त मेरो आफ्नै छोरी । यो लकेट तिम्रो गलामा मैले मेरो लोग्ने र परिवारको दृष्टिबाट टाढा फाल्नुभन्दा पहिले तिमीलाई लगाइ दिएकी थिएँं । सासुससुरा र लोग्नेले गर्दा तिमीलाई यही हातले मुटुमा ढुङ्गा राखेर मन्दिरको अगाडि छोडेर आएकी थिएँं । मेरा घरका खान्दानले छोरी भन्ने जातलाई घरमा राख्नै हुदैन, घरमा अफापसिद्ध हुन्छ भन्ने अन्धविश्वासी अडान कायम राख्नका लागि मेरो ममताको गला घोटेर तिमीलाई फाल्न लगाएका थिए । त्यसको लगतै मेरो लोग्ने र सासुससुराको स्वर्गारोहण भयो । तीन छोरा पछि की छोरी थियो तिमी । म केही समयपछि पुजारीलाई भेटन मन्दिरमा गएकी थिएँं । तर पुजारीको मृत्यु भएको कारण मैले तिमीसंग पुग्न सक्ने बाटो पाइन । जुनबेलादेखि म तिमी कहाँ बसें मेलै मनमनै तिमीलाई आफ्नो छोरी बनाएकी थिएंँ । हेर , आज ईश्वरको लिला ।”

म निशव्द हुन्छु । केही बोल्न सक्तिन । फेरि एकैछिन पछि खुसी व्यक्त गर्दै आमा ! आमा ! आमा !

म आज अति खुसी छु । मैले मेरी आमा पाएंँ । म स्वयम आमा बन्दै छु । एउटी परि हामी दुबैको खुसीमा सामेल हुदैं मेरो पेटभित्र खुसी हुदैं उफ्रदै नाचिरहेकी छिन । भन्दै छिन– “आमा म पनि चाँडै आउदै छु । तपाई र हजुरआमालाई सताउन ।”
ΦΦΦ

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com