सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन महरालाई नेकपा सचिवालयकाे सुझाव
प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि महरालाई सभामुख र सांसद पद दुवैबाट राजीनामा दिएर छानबिनका लागि बाटो खुला गरिदिन नेकपाकाे सचिवालय बैठकले सुझाव दिएको हो ।
यसअघि बिहान प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख महरालाई राजीनामा सुझाव दिनुभएको थियो ।
महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख महरालाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न चौतर्फी दबाब बढेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीले सभामुख महराले आइतबार आफ्नो कोठामै आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
महराको सचिवालयले भने त्यसको खण्डन गरेको छ । तर पछि सञ्चारमाध्यमहरुमा सभामुख महराले उनी आफ्नो साथी भएकाले कोठामा गएको तर दुर्व्यवहार भने नगरेको दाबी गर्नुभएको थियो ।