लुटेराद्वारा फ्याक्ट्रीमा आजगनी, पाँच जनाको मृत्यु
प्रकाशित मिति : कार्तिक ३, २०७६ आईतबार
लुटेराहरुले चिलीको राजधानी सान्टियागो नजिकैको एक गार्मेन्ट फ्याक्ट्रीमा गरेको आजगनीमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
चिलीभर सरकार विरोधी प्रदर्शन चिर्किदै गर्दा सो घटना भएको हो । प्रदर्शन नियन्त्रण गर्नका लागि सैनिक तथा प्रहरीले टियर ग्याँस, पानीको फोहारा प्रयोग गरेका छन् । त्यसैगरी प्रमुख शहरहरुमा रातको समयमा कफ्र्यु जारी गरिएको छ ।
चिलीमा मेट्रो रेलको भाडा बढाएको कारण सरकार विरोधी प्रदर्शन शुरु भएको थियो । सरकारले भाडा बढाउने निर्णय फिर्ता लिए पनि प्रदर्शन जारी रहेको छ । जारी प्रदर्शनको कारण बढ्दो असमानता र मूल्य वृद्धि भएको बताइएको छ ।
सरकारले पाँच वटा राज्यमा संकटकालको घोषणा गरेपनि प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । सन् १९९० पछि पहिलोपटक राजधानी र प्रमुख शहरहरुमा प्रदर्शन नियन्त्रण गर्न ट्याङ्कर र सैनिक परिचालन गर्नु परेको छ ।