अपडेट : क्यालिफोर्निया आगलागी, के हुँदैछ अहिले ?


प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार

क्यालिफोर्नियाको भिन्तुराबाट सुरु भएको आगो तीब्र गतिमा फैलिदा रोनाल्ड रेगन प्रेसिडेण्टल लाइब्रेरी र संग्राहालय जोखिममा परेका छन् । एकघण्टामा आगो दोब्बर बढेको छ भने मडारिएको खतरनाक हावाका कारण फैलिएको आगो रोनाल्ड रेगन प्रेसिडेण्टल लाइब्रेरीबाट एकसय यार्ड नजिकै पुगेको छ ।

प्रहरी र अग्नी नियन्त्रकहरु लाइबे्ररीको आसपासमा आगो पुग्न नदिन प्रयासरत रहेका छन् भने हेलिकप्टरहरुबाट पानी बर्षाइएको छ । आगोको ज्वाला सजिलै ९७२ एकड जमिनमा फैलिएको जनाइएको छ । जसका कारण भेन्तुरा काउन्टीका दुई समुदाय सिमी उपत्यका र मुरपार्क छाडेर अन्यन्त्र जान सर्वसाधारणलाई निर्देशन दिइएको छ ।

बुधबार जंगलमा लागेको आगोसँगै क्यालिफोर्नियामा मौसम एकदमै खराब बनेको छ । सापेक्षित आद्रता निकै कम रहेको र हावाको चाप तीब्र बनेको छ ।

लस एन्जलस क्षेत्रमा पनि फैलिएको आगोले ७५ सय घर खाली गराइएको छ । लस एन्जलस क्षेत्रमा ७० माइल प्रतिघण्टाको गतिमा हावा चलेको जनाइएको छ ।

जंगलमा लागेको आगोको कारण उत्तरी क्यालिफोर्नियाका ३० वटा काउन्टीमा १५ लाख व्यक्तिका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । तीमध्ये १० लाख व्यक्तिका घरमा सप्ताहन्तदेखि अहिलेसम्म नै अन्धकार रहेको छ ।

सान डिएगो ग्यार एण्ड इलेक्ट्रोनिक र साउदर्न क्यालिफोर्निया एडिसनले बुधबार २ लाख व्यक्तिका घरमा विजुली काटेको जनाएको छ ।

आगलागीका कारण विद्यालयका कक्षा र विभिन्न कार्यक्रमहरु समेत रद्द भएका छन् । सानोमा काउन्टीमा विद्यालयहरु बन्द भएका छन् भने कैयन अभिभावकहरु आफ्ना केटाकेटीहरुलाई लिएर अरु राज्यमा घुम्न निस्किएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com