अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा भएको आक्रमणमा ९ अमेरिकीको मृत्यु, ६ बालबालिका
प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार
अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा भएको एउटा आक्रमणमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला, ४ जना सानासाना बालबालिका र २ जना नवजात शिशु रहेका छन् ।
सबैजना अमेरिकन नागरिकता लिएकाहरु रहेको जनाइएको छ । उनीहरु मेक्सिकन मुलका रहेको पनि जनाइएको छ । चलाइरहेको गाडीमा आपराधिक समुहले एम्बुस आक्रमण गरेका थिए ।
गाडीमा आगो लागेको थियो भने जताततै गोलीका प्वालहरु देखिएका छन् । आपराधिक समुहले झुक्किएर यी परिवारमाथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
तीनवटा गाडीहरुमाथि एम्बुस आक्रमण भएको र महिला र १० महिनादेखि १४ बर्षभित्रका केटाकेटीहरुलाई ज्यूदै जलाइएको अधिकारीहरुले जनाएका छन् । महिला र केटाकेटीहरु आगोमा जलेर चिच्चाएका थिए । आक्रमण मेक्सिकोको भूभागमा भएको थियो ।
आक्रमणमा ७ जना घाइते बालबालिकाहरुको अहिले अमेरिकामा उपचार भइरहेको छ । एम्बुस आक्रमणमा घाइते ७ जना बालबालिकालाई एरिजोना ल्याइएको छ ।
मेक्सिकोको उक्त क्षेत्रमा बढेको हिंशा निकै डरलाग्दो रहेको छ । गतबर्ष उक्त क्षेत्रमा भएको हिंशामा ३३ हजारको मृत्यु भएको थियो भने यो बर्ष त्यो संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
गत महिनामात्र उक्त क्षेत्रमा १३ जना प्रहरी अधिकारीहरु एम्बुसमा परेर ज्यान गुमाएका थिए ।